‘शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल आएन’
Friday, June 2nd, 2023, 8:27 pm
Kalpristha
रजनी योगी
नेपालगन्ज, १९ जेठ
शैक्षिक क्षेत्रमा सरकारले गरेको लगानी अनुसार प्रतिफल नआएको पाईएको छ । सरकारले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम लागू गरेको छ । सामुदायिक, निजी तथा परम्परागत (धार्मिक) जस्ता सबै खाले विद्यालयमा पढ्ने विद्यार्थीको लागि विभिन्न शिर्षकमा बजेट छुट्याई कार्यक्रम कार्यान्वयन गरिएको छ । जसले गर्दा शिक्षाको गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको थियो । विद्यालय शिक्षाका लागि कार्यान्वयन गरिएका कार्यक्रमको समन्वय गर्दै आएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताईएको हो ।
पत्रकार भेटघाटको उद्देश्यमाथि प्रकाश पार्दै शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक सुरेश कुमार जोशिले अहिले बिचमै विद्यालय छोड्ने र भर्ना दर धेरै भएपनि माध्यमिक तहमा पुग्दासम्म विद्यार्थीको संख्या घट्दै जाने समस्या देखिने गरेको बताए ।
प्रदेश नम्बर ५ मा मात्रै अर्थिक वर्ष २०७९/८० मा आधारभुत तह (कक्षा १–८)मा जम्मा विद्यार्थी संख्या ९ लाख ९२ हजार २ सय २ रहेको मा यो संख्या माध्यामिक तह (९–१२)सम्म पुग्दा घटेर ३ लाख २८ हजार ३ सय ५४ पुगेको छ । यो संख्या घट्नेमा छात्र भन्दा छात्राको संख्या धेरै छ । सुरुमा भर्ना संख्या बालिकाको धेरै छ भने विद्यालय छोड्ने संख्या पनि छात्रको तुलनामा छात्राको संख्या धेरै पाईन्छ ।
अहिले ५ देखि १२ वर्षसम्मका ३.९ अर्थात ४ प्रतिशत बालबालिका बिद्यालय बाहिर रहेको तथ्यांक उल्लेख गर्दै ५ वर्ष उमेर समुहका बालबालिकालाई कक्षा १ मा भर्ना गरिसक्नुपर्ने बताएका छन्, साथै अहिले विद्यार्थीको पढाईको गुणस्तर भन्दा पनि विद्यार्थी संख्या वृद्धि गर्ने तिर विद्यालय लागिपरेको उनको भनाई छ ।
अधिकांस विद्यालयमा शिक्षक भन्दा विद्यार्थीको संख्यामा वृद्धि भएको छ । पहाडी क्षेत्रमा शिक्षकको संख्या धेरै विद्यार्थी कम र तराई क्षेत्रमा विद्यार्थीको संख्या धेरै र शिक्षकको संख्या धेरै पाईएको छ । दरबन्दी अनुसारको शिक्षक नहुनु र विद्यार्थिलाई आवश्यक भन्दा कम संख्यामा शिक्षक हुनुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कठिनाई भएको छ ।
यस्तै शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभर ४ सय २२ वटा विद्यालयलाई नमुना विद्यालय बनाएको छ भने प्रत्येक पालिकामा प्राबिधिक तथा व्यबसायिक विद्यालय संचालन गर्ने उद्देश्यले अहिलेसम्म ५ सय ३७ विद्यालयमा प्राबिधिक धारको शिक्षा सुरु गरिएको छ । कक्षा ८ अर्थात आधारभुत विद्यालयसम्म दिवा खाजाको व्यवस्था, बालमैत्री तथा अपांगमैत्री विद्यालय, सबैका लागि शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा, सेनेटरी प्याडको व्यवस्था र पढ्दै कमाउदै लगायत कार्यक्रम संचालन गरिएको छ भने, जनशक्ति अभाव, स्रोतसाधनको अपर्याप्तता, शिक्षक दरबन्दी मिलान, अनुगमन,जनशक्ति तथा कार्यक्षेत्रको अन्यौलता प्रमुख समस्या र चुनौती रहेको निर्देशक जोशिको भनाई छ ।
अहिलेको शैक्षिक क्षेत्रमा सम्पुर्ण भुमिका व्यवस्थापन स्थानीय सरकारको हुने हुँदा आफ्नो समन्वयात्मक भुमिका मात्रै हुन्छ त्यसैले अनुगमन तथा गुनासो प्रती सम्बन्धित शिक्षक तथा विद्यालयलाई सचेत बनाउने काम गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख भगवान पौडेलको भनाई छ ।
शिक्षक नियुक्तिमा राम्रो भन्दा पनि हाम्रो तिर ध्यान केन्द्रित भईरहेको पाईएकोले अहिले आफुले हाम्रो मध्यको राम्रोलाई खोज्दिन अनुरोध गरेको पनि उनले बताए । विद्यालयले विद्यार्थीलाई पढाउनु भन्दा पनि सिकाउन, टिकाउन र बिकाउन सक्नुपर्ने उनको सुझाव छ ।
काठमाडौ केन्द्रित कार्यक्रमलाई प्रदेशसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत चन्द्र प्रसाद सापकोटा,शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अधिकृत उद्दव श्रेष्ठ, बाँके र बर्दियाका विभिन्न विद्यालय शिक्षक र बाँकेका विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति थियो ।