राप्तीसोनारीका किसानलाई उत्पादन प्रोत्साहन रकम वितरण
Thursday, June 8th, 2023, 11:01 pm
Kalpristha
सौरभ राना
खजुरा, २५ जेठ
साकार कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा बाँकेको राप्तीसोनारीमा सदस्य किसान गोष्ठी तथा उत्पादन प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको कार्यालय अगैयाँमा भएको कार्यक्रममा पालिकाका अगुवा किसान, जनप्रतिनिधि र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । जहाँ किसानले आफना वास्तविक समस्याहरु जनप्रतिनिधि समक्ष राखेका थिए । किसानहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु लगायत सरोकारवाला निकायले दिएका थिए ।
कार्यक्रममा साकार कृषि सहकारी संस्था लिमिटेडले धान र गहुँ विउ उत्पादन गरेवापत किसान सदस्यलाई संरक्षित पुँजी कोषबाट रकम वितरण गरेको थियो । साकारले ७७ जना किसानलाई १ लाख ९९ हजार रुपैयाँ हस्तान्त्रण गरेको साकार कृषि सहकारी संस्था लिमिटेडका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए ।
गोष्ठी आयोजना गर्न आरएमडिसी लघुवित्त वित्तीय संस्था मध्यबानेश्वर काठमाडौंले सहयोग गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत अनिष श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पोरेशन नेपालगन्जका प्रमुख मनोज चौधरी, वडा नम्बर ३ अध्यक्ष मीन कुमार थारु, ७ नम्बर वडा अध्यक्ष राम लखन थारु, किसान–२ परियोजनाका नारायण अर्याल, समिट परियोजनाका दिक्षा अधिकारी, मुक्तिनाथ कृषि कम्पनीका बजार प्रतिनिधि उमेश पौडेल, साकार कृषि सहकारीका मुख्य व्यवस्थापक जमान सिंह ओली, प्रबन्धक भरत बहादुर खत्री, नायब प्रबन्धक निम बहादुर घर्ति, कृषि प्रमुख दल बहादुर सुनार, किसान अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका भुगोलको आधारमा देशकै धेरै जनसंख्या भएको दोस्रो ठुलो पालिका हो । ६८ हजार जनसंख्या भएको पालिकामा करिब ४६ हजार मतदातासंख्या रहेको छन् । जहाँ ९० प्रतिसत भन्दा बढी जनसंख्या कृषि पेशामा आवद्ध छ ।
पालिकामा कृषि जनताको मुख्य पेशा भएपनि कृषि क्षेत्रमा धेरै ठगिएको र धेरै किसानहरु उपेक्षित रहेको गाउँपालिका अध्यक्ष पौडेलले बताए । उनले भने, ‘जनताले मिहिनेत गरेका छन् । पालिकाले लगानी गरेको छ कृषि क्षेत्रमा । तर पनि समयमा मल, बिउ नपाउने समस्या छ । खेतका आलीमा सिँचाई पुगेको छैन । बगर खेतिका लागि पनि जमिन छ । राज्य कृषिमा काम गर्नका लागि कृषि ज्ञान केन्द्र बनाएको छ । विभिन्न संस्थाले कृषि क्षेत्रमा काम पनि गरेका छन् । तर नतिजा सन्तोष जनक छैन । अब नतिजा आउने गरी काम गर्नु पर्छ ।’
पालिकाले नीतिगत रुपमा उत्पादनमा आधारित भएर प्रतिफल आउने गरी बजेटको बिनियोजन गर्ने तयारी गरिरहेको उनले बताए । पौडेलले भने,‘ पालिकाले पहिलो प्राथमिकतामा किसानलाई राखेको छ । तर केहि कुरामा कृषकको ठुलो समस्या चेतना र बुझाई पनि देखिएको छ । किसानको पिडालाई राज्यले बुझन सकेको छैन । राज्यबाट संचालित कार्यालयले बुझन नसक्नु पिडादायी अवस्था हो ।’
किसानहरुले उत्पादन गरेका उत्पादनलाई लामो समस्य सम्म राखेर बिक्री गर्नका लागि पालिकामा शितभण्डार निर्माण गर्ने योजना अगाडी बढाउन पालिकाले तयारी सुरु गरेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष मनिषा थारुले किसानले भनेजति मल नपाउँदा उत्पादनमै असर परेको बताईन । उनले भनिन, ‘लुम्बिनी प्रदेशमा नै मल कम आउने गरेको छ, त्यसमा पनि बाँकेमा सबैभन्दा कम आउनु भनेको दुःखपुर्ण कुरा हो । यसले राप्तीसोनारीका किसानलाई सधै पिडा दिने गरेको छ ।’
वडा नम्बर ७ अध्यक्ष रामलखन थारुले कृषिलाई आधुनिकरण, प्रवर्दन नगरेसम्म पालिकाको समृद्ध बन्न नसक्ने बताए । कृषि क्षेत्रमा वडा, पालिकाले विभिन्न कार्यक्रम गरिरहेकोले त्यसबाट किसानहरु लाभ मिलिरहेको बताए ।
साकारका मुख्य व्यवस्थापक जमान सिंह वलीले किसानहरुलाई आत्मनिर्भर बनाउनको लागि प्रविधि देखि लिएर विउ र मल लगायतका क्षेत्रमा सहकारीले उत्कृष्ट ढंगबाट सेवा प्रदान गरिरहेको बताए ।
बाँकेमा कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सहकारीको रुपमा छबि बनाएको साकारले आफना सदस्यहरुलाई २२ करोड भन्दा बढी ऋण प्रवाह गरेको छ भने १० करोड ४७ लाख रकम बचत गरेको छ । संस्थाको कुल पुँजी ३० करोड ९९ लाख रहेको छ । साकारले बाँकेका आठ स्थानीय तहमा आफनो सेवा केन्द्र विस्तारका लागि अनुमति पाएको छ । आगामी दिनमा बैजनाथ र खजुरामा सेवा केन्द्र विस्तार गर्ने योजना रहेको वलीले बताए ।

…………….

………….