‘सरकारको कपास विकास समिति खारेज गर्ने निर्णय गलत हो’
Sunday, June 11th, 2023, 9:22 pm
Kalpristha
निर्णय फिर्ता लिन एमालेको दबाब
कालपृष्ठ समाचारदाता
खजुरा, २८ जेठ
खजुरा गाउँपालिकामा रहेको कपास विकास समिति खारेज गर्ने सरकारको निर्णय प्रति नेकपा एमाले बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १५ को बजेट भाषणमा नेपाल सरकारले कपास विकास समिति खारेज गर्ने प्रस्ताव पेश गरेको थियो ।
तर पछिल्लो समय कपास विकास समितिले आन्तरिक घाटालाई कम गर्दै नाफा बढाइरहेको बेला सरकारले बन्द गर्ने निर्णय गरेको प्रति एमाले बाँकेले आपत्ति जनाएको हो । एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले एक विज्ञप्ती जारी गर्दै सरकारले गरेको निर्णय गलत भएको भन्दैं त्यसलाई फिर्ता नलिए आन्दोलनमा उत्रिने बताएका छन् । नाफामा गैरहेको संस्था बन्द गर्ने सरकारको निर्णय अवैज्ञानिक र अदुरदर्शी निर्णय भएको नेकपा एमाले बाँके अध्यक्ष कक्षपतिले कालपृष्ठ दैनिकलाई बताए । कक्षपतिले खजुरा गाउँपालिकाको जनप्रतिनिधि भएको बेला आफुले कपास विकासको बजारीकरणमा थुप्रै प्रयास गरेको बताए ।
कपास विकास समितिको बजारीकरणमा ध्यान दिनु पर्ने अवस्थामा सरकारले बन्द गर्ने निर्णय गर्नु गलत भएको कक्षपतिले बताए । उनले भने, ‘ हेटौडा कपडा उद्योग र बुटवल धागो कारखानालाई सरकारले संचालन गर्ने निर्णय गरेको छ । तर यी दुई उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउने अर्को उद्योग बन्द गर्ने निर्णय गरिएको छ । यसले राज्य र सयौं किसानको रोजगारमा असर गर्छ ।’
पछिल्लो समय सरकारले हरेक वर्ष १५ अर्ब रुपैयाँको भारतबाट कटन आयत गर्ने गरेको छ । खजुरा कपास विकास समितिले उत्पादन गरेको कपास बुटवल धागो कारखानाले किन्ने गरेको थियो । बुटवलमा बनेको धागोलाई हेटौडा कपडा उद्योगले प्रयोग गर्ने गरेको थियो । ति दुई ठुला उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउने कपास विकास समिति खारेज गर्ने निर्णय सरकारको अदुरदर्शी निर्णय भएको कक्षपति बताउँछन् । बाँकेको खजुरामा २०३७ साल पौष १ गते स्थापना भएको कपास विकास समितिले यस क्षेत्रका बाँके, बर्दिया दाङ जिल्लामा कपास खेती गराई कपासको खरिद, प्रशोधन तथा विक्री वितरण गर्दै आएको थियो । चालु आर्थिक वर्षमा विगत वर्षको स्टक सहित तिन करोडको कपास बिक्री गरी आयात प्रतिस्थापन भई समिति चलिरहेको थियो ।
बाँके, बर्दिया र दाङ जिल्लामा कपास कृषकहरुबाट कपास उत्पादन गराई तोकिएको मूल्यमा आगामी वर्षलाई १० हजार प्रति कुईन्टल खरिदको मूल्य पूर्व निर्धारण गरी यसवर्ष १ सय ५० विगाहको लागि बीउ, विषादी कृषकहरु माझ गईसकेको छ । हेटौडा कपडा उद्योग र बुटवल धागो कारखानालाई कच्चामाल उपलब्ध गराउने उद्देश्यले स्थापना भएको समितिले बजारको खोजी गरी बिराटनगर, काठमाडौं, बुटवलका सेनेटरी प्याड बनाउने उद्योगलाई कपास विक्रि गर्दै आएको छ । समितिसँग अर्वो रुपैयाँको जमिन, करोडौंको आधुनिक कपास प्रशोधन गर्ने मसिन छन् ।
यसरी चलिरहेको समितिलाई एक्कासी खारेज गर्ने निर्णयले हजारौं कपास किसान परिवार अन्योलमा परेका छन् । तत्कालिन केपी ओली सरकारका कृषिमन्त्री चक्रपाणी खनालका पालामा सह–सचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको राष्ट्रियस्तरमा कपास खेती विस्तार तथा प्रवर्दन कार्य दलले सुझाव दिएको थियो । उक्त सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा सरकारले हचुवाको भरमा खारेज गर्ने निर्णय गरेको आरोप लगाइएको छ ।
कपास विकास समितिसँग हाल बर्दियाको बढैयाताल गाउँपालिकामा पाँच विगाह १२ कठ्ठा, मधुवन नगरपालिकामा तिन विगाहा, दाङको तुलसीपुर उप–महानगरपालिका टरिगाउँमा तीन बिघा, खजुरा गाउँपालिका वडा नम्बर तिनमा १० बिघा जमिन रहेको छ । यसैगरी कुम्भर फारम बर्दियामा ८ सय २५ बिघा जमिन २०३३ सालको मन्त्रिपरिषदको निर्णयबाट प्राप्त भएको थियो ।
तर जग्गाधनी पुर्जा नभएको केहि जमिन २०६० सालदेखि अतिक्रमणको अवस्थामा रहेको छ । समितिसँग पुर्वाधार अन्तर्गत प्रधान कार्यालय खजुरामा कार्यालय भवन सहित छ वटा गोदाम, पाँच वटा कपास प्रशोधन मेसिन उपकरण, ९ सय ४० कुण्टल प्रतिघण्टा कपास प्रशोधन गर्ने क्षमता, तिन करोड रुपैयाँ बराबरको कर्मचारी आवास गृह, जमुनी बर्दियामा गोदाम, अफिस घर, मधुवन नगरपालिकामा गोदाम अफिस घर रहेको छ । जनशंक्ति अन्तर्गत समितिमा आठ जना स्थायी कर्मचारी र १५ जना ज्यालादारी चौकीदार, कम्प्युटर अपरेटर र फिल्ड सहायकहरु छन् ।

……………