नेपालगन्ज उप–महानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Thursday, June 15th, 2023, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ जेठ
नेपालगन्ज उप–महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका स्तरीय खोप समन्वय समिति नेपालगन्जले आयोजना गरेको एक कार्यक्रमका बीच नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका १७७ गरी ८६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि बैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यस अन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुन: समेटेपछि नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
नेपालगन्ज जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सातौं पालिका हो । नगरमा घरधुरी सर्वेक्षण र महिला स्वास्थ्य स्वयंसेविका परिचालनमा युनिसेफले आर्थिक तथा प्राविधिक सहयोग गरेको प्राविधिक सहयोग इकाई युनिसेफका तथ्यांक अधिकृत नवीन सुवेदीले बताए । नेपालगन्ज उपमहानगरपालिका २०७४ असार ३१ गते पूर्ण खोप घोषणा भएकोे थियो ।
घोषणासभा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने बताए । नगर प्रमुख प्रशान्त विष्टले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । उनले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्याउने सबै स्वास्थ्यकर्मीको लगन र मेहनतको सराहना गरे । यस बर्ष फैलिएको दादुरा महामारीले पनि खोपको महत्व र आवश्यकता पुष्टि गरेको बताउँदै उनले असल स्वास्थ्यका लागि खोप अनिवार्य शर्त भएको बताए ।
घोषणासभा कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १४ का स्वास्थ्य प्रमुख मोहन देवकोटा, महिला स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती लगायतले बोलेका थिए ।
जिल्लामा अब राप्तीसोनारी बाहेक सबै पालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई अहिले १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोप लगाउने गरिन्छ ।