११ लाख किलो गोलभेँडा भारत निर्यात
Thursday, July 27th, 2023, 9:14 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, ११ साउन
आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार उक्त परिमाणको गोलभेँडा असारमा मात्रै निर्यात भएको छ । गत साउनदेखि जेठसम्म भने यहाँबाट भारत निर्यात भएको छैन । असारमा मात्रै भारतबाट पनि नेपालमा ५० लाख किलो गोलभेँडा आयात भएको विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो ।
केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको छ । एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको एक सय २० देखि एक सय ५० भारूमा कारोबार भइरहेको थियो । अहिले भने भारतको मुम्बईमा गोलभेँडा किलोकै दुई सय रूपैयाँमाथि पुगिसकेको त्यहाँको सञ्चार माध्यम द इकोनोमिक्स टाइम्सले दुईदिन अघि समाचार सम्प्रेषण गरेको छ । भारतका केही सहरमा भने अहिले गोलभेँडाको मूल्य एक सय भारूभन्दा तल आइसकेको छ ।
साउनको पहिलो साता कालिमाटी तरकारी तथा फलफूल बजारमा लोकल साना गोलभेँडाको मूल्य प्रतिकिलो पाँचदेखि ६ रूपैयाँ र टनेल गोलभेँडा भने न्यूनतम ६ रूपैयाँदेखि १२ रूपैयाँ थियो । यो मूल्य कालिमाटीका व्यापारीले किन्ने मूल्य हो । त्यतिखेर उपभोक्ताले भने प्रतिकिलो ३० देखि ३५ रूपैयाँमै पाइरहेका थिए ।
साउन पहिलो साता भने त्यहाँका व्यापारीले किन्ने मूल्य लोकल गोलभेँडा प्रतिकिलो न्यूनतम ३० देखि ५० रूपैयाँ पुगेको छ भने टनेल गोलभेँडा न्यूनतम ५४ देखि ७५ रूपैयाँ छ । यो तथ्यांक हेर्दा एक महिनाको अवधिमा साना लोकल गोलभेँडा २५ देखि ४५ रूपैयाँसम्म पुगेको छ । त्यस्तै, टनेल गोलभेँडा भने ५० देखि ७० रूपैयाँसम्म पुगेको छ । अहिले बजारमा गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ८० रूपैयाँदेखि एक सय रूपैयाँसम्म छ ।
भरततर्फ गोलभेँडा जाने क्रम बढेको र यहाँ पनि उत्पादनमा कमी आउन थालेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।