दावि विरोधबाट सुरु भएको विवाद अदालत पुग्यो
Friday, August 11th, 2023, 9:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेद्वारको दावि विरोधबाट सुरु भएको विवाद अदालत पुगेको छ । उम्मेदवारी माथि दावि विरोधको लागि निवेदन लिएर व्यापार संघ पुगेका उद्योग तर्र्फ उपाध्यक्षका उम्मेदवार दिपेन्द्र कुमार जोशीको निवेदन दर्ता नभएपछि सिर्जना भएको विवाद चुलिंदै अलतसम्म पुगेको छ ।
जोशीले उद्योग तर्र्फ कै उपाध्यक्षका उम्मेदवार मोहम्मद सफिक बेहना र चिरञ्जीवि ओली माथि दावि विरोधको उम्मेद्वारी दिएका थिए । उद्योग तर्र्फ उपाध्यक्षका उम्मेदवार जोशीले उद्योग तर्र्फ कै उपाध्यक्षका उम्मेदवार बेहना र ओली माथि दावि विरोधको उम्मेद्वारी दिएपनि बेहना माथिको दावि विरोधको निवेदन दर्ता भएको थियो । तर, ओलीमाथिको दावि विरोधको निवेदन दर्ता भएको थिएन ।
नियतवस निवेदन दर्ता नगरिएको प्रति असन्तुष्टि जाहेर गर्दै जोशीले नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यालय प्रमुख तथा अध्यक्ष माथि शुक्रबार मात्रै अदालतमा रिट दायर गरेको जानकारी दिए ।
‘मेरो दावि विरोधमाथी कुनैपनि सुनुवाई नभएपछि म अदालत पुगेको हुँ ।’–उनले भने । नेपालगन्ज उद्योग वाणिज्य संघमा हालीमुहाली भएका केहि व्यक्तिहरुको दवावका कारण वकिलहरुले मुद्दा समेत नलिएको उनको भनाई थियो । ‘म अदालत जानु अघि छलफलको बाटोमा थियँ । मेरो माग सुनुवाई हुने आश्वासन पनि त पायँ । तर, लिखित सहमति नभएकोले मेरो माग पुरा हुन सकेन । त्यसपछि मात्रै मैले कानुनको बाटो समातेको हुँ । सात वटा वकिलहरुले मुद्दा लिन नमानेपछि आठौं वकिलले मुद्दा लिन मान्नु भयो । अहिले अदालतले आईतबारका लागि पेशी तोकेको छ । मेरो लडाई व्यक्तीसँग नभई प्रवृत्तिसँगको हो ।’
नेपालगन्ज उद्योग वाणिज्य संघको संसोधित ‘विधान’ अनुसार संघको अध्यक्ष र उपाध्यक्षको पदमा उम्मेदावार हुन चाहने व्यक्ति संघको सदस्यको रुपमा रहेको औद्योगिक वा व्यापारिक प्रतिष्ठानको प्रोप्रइटर वा साझेदार तथा संचालकको ओहदामा रहेको हुनु पर्ने, संघको सदस्यको रुपमा उम्मेदवार हुन चाहने व्यक्ति संघको सदस्यको रुपमा रहेको औद्योगिक वा व्यापारिक प्रतिष्ठानको प्रोप्राइटर वा साझेदार वा संचालक वा प्रबन्धक वा मुख्य व्यवस्थापक वा उपमुख्य व्यवस्थापक तह सम्मको ओहदामा काम गरी रहेको र सोही हैसियतमा संघको सदस्यता किताबमा कम्तीमा २ वर्ष पहिले नाम उल्लेख भैसकेको हुनु पर्ने कुरा उल्लेख गरिएको छ ।
सो अनुरुप ओली माथि जोशीले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको संसोधित ‘विधान’ २०७९ अनुसार अयोग्य भएको आरोप लगाएका छन् । ओलीले उम्मेद्वारीका लागि संघमा पेश गरेको कागजात अनुसार उनले उद्योग सन्चालन गरेको दुई बर्ष पुगेको छैन ।