वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन
Monday, August 14th, 2023, 4:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ साउन
पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव मानव बेचबिखन तथा तस्करीका घटना बढ्दै गएका छन् । नेपालबाट भारतको बाटो हुँदै अवैध रुपमा वैदेशिक रोजगारीका नाममा तेस्रो मुलुकमा मानव मानव बेचबिखन तथा तस्करीका घटना बढ्दै गएका हुन् ।
भारतका साथै युरोप, अमेरिकामा मात्रै नभई खाडीमै पनि आकर्षक तलब सुविधामा रोजगारी दिने बहानामा मानव मानव बेचबिखन तथा तस्करी हुने क्रम डरलाग्दो गरी बढेको छ । तर, यसको यकिन तथ्याङ्ग भने पाईदैन ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो सहितको टोलिले गतबर्ष मंसिर २९ गते दलालको प्रलोभनमा परी कुवेत जाने भनी भारतको राजस्थान पुगेका दुई जनाको उद्दार ग-यो । जस मध्ये एक जना गोरखाका थिए भने एक जना सुनसरीका थिए ।
गत माघ मै फेरि राजस्थानको जयपुरबाट १२ जना उद्धार गरि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले शान्ति पुनस्थापना गृह नामक मानवअधिकारवादी सामाजिक संस्थाको सहकार्यमा स्वदेश फिर्ता ग-यो ।
उनिहरुलाई नेपालका विभिन्न नाकाहरुबाट अलग–अलग गरि त्यहाँ पु¥याईएको थियो । उनिहरुलाई भारतबाट दुवै हुँदै भिजिट भिसामा इथियोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ ।
यी त प्रतिनिधि मुलक घटना मात्रै हुन् । यसरी दलालको प्रलोभनमा परी अवैध रुपमा भारतको बाटो हुँदै तेस्रो मुलुक जानेहरुको संख्या दिनानुदिन बढीरहेको छ ।
यसरी उनिहरुलाई नेपालबाट भारत लैजाने क्रममा नेपलगन्जको जमुनाह नाका, जोगबनी नाका, काँकडभिट्टा, सुनौली लगायतका नाकाको प्रयोग भएको उद्दारमा संलग्न शान्ति पुर्नस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।
उनका अनुसार मानव तस्करी तथा बेचविखनमा संलग्नहरुले अन्य नाका भन्दा नेपालगन्जको जमुनाहा नाकाको बाटो रोज्ने गरेका छन् ।
शान्ति पुर्नस्थापना गृह नेपालगन्ज, बाँकेले जिल्लाका विभिन्न नाकाबाट आ.व.२०७९÷८० मा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका २ सय ८८ जना महिला, किशोरी तथा बालबालिकाहरुको उद्वार गरेको समेत उनले जानकारी दिए ।
जस मध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २ सय ३३ जनाको उद्वार गरिएको तथ्याङ्क छ । त्यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया÷बगौडा नाकाबाट ४ जना र कोहलपुर बसपार्क स्थित रहेको सूचना तथा परामर्श केन्द्रबाट १७ जनाको उद्वार गरिएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिमपुर्ण यात्रामा रहि उद्वार गरिएका मध्ये बाँकेका ५८, बर्दियाका ४२, सुर्खेतका २८, जाँजरकोटका २०, दैलेखका १८, दाङका १७, सल्यानका १७ गरी ३९ जिल्लाको रहेका पुर्नस्थापना गृहकी बाँके जिल्ला कार्यक्रम संयोजक सिर्जना गौतमले जानकारी दिइन् ।
खुला सीमा भएको कारण र समुदाय स्तरमा प्राप्त मात्रामा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने नसकिएको कारण मानव बेचबिखन रोकथाममा चुनौती रहेको सुवेदीले बताए ।
अवसरको खोजी, सामाजिक एंव् आर्थिक समस्याको कारण अवसर खोज्दा जोखिममा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको बढि जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए ।
पुनस्थापना गृह बाँकेकी संयोजक गौतमले विगतमा भन्दा वर्तमानमा नयाँ–नयाँ तरिकाहरु अपनाएर मानव बेचबिखन तथा ओसारपसार गर्न थालिएको बताईन् । आर्थिक वर्ष २०७९- ८० मा भारतका विभिन्न स्थानमा जोखिममा परेका २२ जनालाई उद्वार पश्चात स्वदेश फिर्ता गरिएको छ ।