प्रचारका नाममा विदेशमा पैसा पठाउँदैं व्यापारी नेताहरु
Wednesday, August 16th, 2023, 8:55 pm
Kalpristha
उम्मेदवारहरुले आफनो चुनावी प्रचार प्रसारमा भने डलरमा रकम खर्च गर्दै फेसबुक वुस्ट लगायतका काममा प्रयोग गरेका छन् । जुन रकममा नेपाल सरकारले कर समेत पाउने गरेको छैन् । अर्को तर्फ स्थानीय संचार गृहलाई पनि यसले असर गरेको छ । यसले व्यवसायीका वास्तविक समस्यालाई सम्बोधन गर्न चुनावमा उठेका उम्मेदवारले कत्तिको सम्बोधन गर्न सक्छन भन्ने सोच र क्षमताको पनि परिक्षण गरेको छ ।
सौरभ राना
नेपालगन्ज, ३१ साउन
आगामी भदौं २ गते नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । निर्वाचनको दिन नजिकिदैं गर्दा उम्मेदवारहरु चुनावी दोडधुपमा व्यस्त छन् । विगतमा जस्तै यसपटकको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनितिक दलप्रति आस्था राख्ने व्यवसायीका समुहहरु आ–आफनो टिम बनाएर चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।
ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह र टंक धामीको नेतृत्वमा समावेशी समुह चुनावी प्रतिस्पर्धामा छ । दुबै समुहको प्रमुख एजेन्डामा पर्छ स्वदेशी व्यापार र व्यवसायलाई संरक्षण, प्रवद्र्धन गर्ने ।
नेपाल–भारतको खुला सिमानाका कारण अवैध बाटो भएर कर छलेर आएका सामानले नेपाली बजार सुक्दै गएको भन्दैं व्यवसायीका नेताले यसलाई रोक्ने आफनो मुख्य एजेन्डाका रुपमा राखेका छन् । तर चुनावी प्रतिस्पर्धामा रहेको दुबै समुहका उम्मेदवारहरुले आफनो चुनावी प्रचार प्रसारमा भने डलरमा रकम खर्च गर्दै फेसबुक वुस्ट लगायतका काममा प्रयोग गरेका छन् । जुन रकममा नेपाल सरकारले कर समेत पाउने गरेको छैन् । अर्को तर्फ यसले स्थानीय संचार गृहलाई पनि असर गरेको छ ।
यसले व्यवसायीका वास्तविक समस्यालाई सम्बोधन गर्न चुनावमा उठेका उम्मेदवारले कत्तिको सम्बोधन गर्न सक्छन भन्ने सोच र क्षमताको परिक्षण गरेको बताउँछन पर्यटनकर्मी श्रीराम सिग्देल ।
संचारकर्मी तथा नाटा बाँकेका अध्यक्ष समेत रहेका सिग्देलले प्रश्न गर्दै भन्छन,‘नेपाली ग्राहकले रुपैडिहामा किनमेल गर्दा नेपालगन्ज बजार सुक्यो, अर्बो रुपैयाँ भारत गयो भनेर चर्को स्वर गर्ने नेपालगन्जका व्यापारिक अगुवाहरुले नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्रचारमा कति डलर समुन्द्र पार पठाए होलान । अनुमान लाउने कोहि छ ? एफएम छन, टिभी छ, अनलाईन छन, पत्रपत्रिका छन, ह्याण्ड माइक छन के यी सबै उपेक्षित भएकै हुन, कि मेसो नपाएको हो ? ।’
अन्य व्यवसाय जस्तै संचार पनि उद्योग हो । नेपालगन्जका स्थानीय संचार माध्यममा दर्जन भन्दा बढी मानिसले प्रत्यक्ष रुपमा रोजगार पाईरहेका छन् । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिबाट स्थानीय संचार संस्थाहरु पनि मारमा परिरहेका छन् । आर्थिक संकटसँग संचार गृहहरु जुधिरहेका बेला व्यापारीका नेताले पनि यसमा ध्यान दिन नसकेको बताउँछन् नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी । डाँगी भन्छन,‘अरु बेला व्यवसायीका नेता नेपाली ग्राहक सिमापारी जाँदा स्वदेशी व्यवसाय चौपट भयो भनेर थाक्दैनन् । कतिका घोषणापत्रमा त त्यसलाई रोक्ने विषय पनि समेटिएका होलान । तर चुनावका बेला आफनो प्रचारमा भने डलर खर्चेर विदेशमा पैसा पठाइरहेका छन ।’
सचिव डाँगीका कुरामा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ पनि सहमति छन् । यसका बारेमा उम्मेदवारले थाहा नपाएर गरेको हुन सक्ने तर्क राख्छन् श्रेष्ठ । उनले भने,‘संचार आफैमा एउटा उद्योग हो । यस सन्दर्भमा पनि चुनावमा खर्च हुने पैसा यही खर्च गर्नु पर्छ । उम्मेदवारले पनि आफै थाहा नपाएर पनि गरिरहेको होलान । यस विषयमा गम्भिर भएर सोच्न जरुरी छ ।’