विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका
Thursday, August 17th, 2023, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३२ साउन
नेपालगन्ज उप–महानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगन्ज उप–महानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो । भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ । खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा आज विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ । सरोकारवालासंग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले नगरस्तरीय स्वयंसेवक व्युरो गठन र सञ्चालन सम्बन्धि व्यवस्था, वडा र समुदायस्तरमा स्वयंसेवक समिति गठन र परिचालन, स्वयंसेवकको काम र कर्तब्य, स्वयंसेवकको बीमा र सुरक्षा लगायत निर्देशिकामा भएको व्यवस्था र कार्यविधिबारे जानकारी गराएका थिए ।
डाँगीले तालिमका लागि स्वयंसेवक छनौट गर्दा सामुदायिक आकस्मिक प्रतिकार्य टोलीमा आबद्ध हुन इच्छुक, कम्तीमा ५० प्रतिशत महिला, युवा र स्वयंसेवीलाई प्राथमिकता दिइएको बताए ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले विपद प्रतिकार्यको पूर्व तयारी स्वरुप दक्ष स्वयंसेवक उत्पादन गरी उचित परिचालनका लागि निर्देशिकालाई अन्तिम रुप दिन लागिएको बताए । विष्टले सरोकारवालाहरुले दिएको सुझाबलाई समेटेर कार्यपालिका बैठकबाट पारित गरी निर्देशिका कार्यान्वयनमा ल्याउने उल्लेख गरे । सबैखाले विपदसंग जुध्न सक्ने गरी आफूलाई सक्षम बनाउने क्रममा नेपालगन्ज उप–महानगरपालिका लागि परेको बताउँदै उनले जोखिमयुक्त घरहरुलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक आवास बीमा कार्यक्रम यसै बर्षदेखि लागू गरिएको जानकारी दिए । भूकम्प, आगलागी, महामारी, डुबान लगायत सबैखाले विपद व्यवस्थापनका लागि थुप्रै प्रयासहरु गरिएको नगर प्रमुख विष्टको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपदसंग जुध्न सबैले आ–आफ्नो तर्फबाट पूर्व तयारी गर्नुपर्ने बताउँदै अहिले बढी जोखिमका देखिएका हिसाबले वडा नम्बर ३ र ७ लक्षित क्रियाकलाप बढी भएपनि सबै वडाले आफूलाई सक्षम बनाउने गरी पूर्व तयारी गर्नुपर्ने उल्लेख गरे । छलफल कार्यक्रममा वातावरण र विपद शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनका लागि भइरहेका प्रयास र उपलब्धिसंगै स्वयंसेवक परिचालन निर्देशिकाको आवश्यकता र महत्व तथा सुपर परियोजना संयोजक शिव सुवेदीले नेपालगन्ज उप–महानगरपालिकासंगको सहकार्यमा परियोजनामार्फत भइरहेका गतिविधिहरुबारे प्रकाश पारेका थिए । छलफल कार्यक्रमको सहजीकरण आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरेका थिए । नगरभित्र जुनसुकै संघसंस्थाले तालिम दिएपनि उनीहरुलाई एकीकृत गर्ने उद्देश्य निर्देशिकाको रहेको छ । ज्ञवालीले त्यसलाई स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमा रोष्टर बनाएर राखिने समेत बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धि तालिम दिएको हो ।