उद्योगीको निर्वाचन रंगशालामा हुँदै
Thursday, August 17th, 2023, 9:09 pm
Kalpristha
लक्ष्मी तिमिल्सिना
नेपालगन्ज, ३२ साउन
आगामी शनिबार हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन यसपटक नेपालगन्ज रंगशालामा हुने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको ईतिहासमै पहिलोपटक नेपालगन्ज रंगशालामा निर्वाचन हुन लागेको हो । ७ जना पदाधिकारी सहित २७ सदस्यीय कार्यसमिति रहने सो समितिका लागि निर्वाचन हुँदैछ । यस पटकको निर्वाचनमा ४ हजार ९ सय ३१ जना मतदाता छन् ।
जसमध्ये ४ हजार ७ सय २० जना साधारण, १ सय ८२ जना एसोसिएट तथा २९ जना सम्बद्व मतदाता छन् । जसमध्ये करिव २५ प्रतिशत मतदाता नेपालगन्ज बाहिरका मतदाता छन् । नेपालगन्ज उद्योग बाणिज्य संघमा नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन् ।
यता, निर्वाचनको पुुर्वसन्ध्यामा आईपुग्दा समेत संघको उद्योग तर्फको उपाध्यक्षको उम्मेदवारी सम्बन्धि विवाद टुङ्गिएको छैन । नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार चिरञ्जीवी ओलीकोे योग्यता सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दा विवाद समाधान हुन नसकेको हो ।
अदालतका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र वामदेव ज्ञवालीको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उम्मेदवार ओली, निर्वाचन आयुक्त र नेपालगन्ज उद्योग वाणिज्य संघविरुद्व उद्योगतर्फकै अर्का उम्मेदवार दीपेन्द्रकुुमार जोशीले गत २६ साउनमा उत्प्रेषण तथा परमादेशका लागि मुद्दा दायर गरेका थिए ।
उच्च अदालतको आदेशपछि ओलीको उम्मेदवारी सम्बन्धी विवाद तत्कालका लागि किनारा लागेको छ । ओली र नेपालगन्ज उद्योग वाणिज्य संघ (विपक्षी)हरुको तर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, टीकाजंग सिंह, लोकबहादुर शाह, विकास आचार्य, माधवप्रसाद शर्मा, शक्तिसिंह हमाललगायतले बहस गरेका थिए ।
यता नेकपा एमाले बाँकेले प्रेस विज्ञप्ती जारी गर्दै जोशीलाई उम्मेदवारी फिर्ता लिन मौखिक दबाब दिइएको र अटेरी गरेकोले कारवाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको बताएको थियो । समावेशी प्यानलमा एमालेले भने अनुसारको सहमति हुन नसक्दा अन्तिम दिनमा एमाले आफैले ‘डमि’ उम्मेदवारहरु खडा गरेको थियो ।
यद्यपी छलफलबाट कुरा मिलेपछि एमाले बाँकेले आफ्ना उम्मेद्वारहरुलाई पछि हट्न भनेको थियो । पार्टीको सर्कुलर अनुरुप अन्य उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपनि जोशिले भने फिर्ता लिन मानेन् । र, उनी अदालतसम्म पुगेका थिए । पछिल्लो समय उनी आफु स्वतन्त्र उम्मेदवार भएको बताउँदै आएका छन् ।