नेपालगन्ज आईसकेपछि उनी व्यवसायसंगै अन्य क्षेत्रमा पनि सक्रिय भएर काम गरिरहेकी छिन् । खेल, साहित्य पत्रकारिता संगै राजनितिक क्षेत्रमा पनि उनी अब्बल नेतृका रुपमा परिचित छिन् ।
रजनी योगी नेपालगन्ज, ३२ साउन
युवा जुझारी व्यवसायी हुन करिष्मा योगी । व्यवसायका क्षेत्रमा नविनतम सोच र उर्जाका साथ काम गरिरहेकी करिष्मा राजनितिसँगै व्यवसायमा पनि सफल महिला उद्यमीका रुपमा स्थापित हुँदै गएकी छिन् ।
व्यवसाय रहरले भन्दा बाध्यताले गर्न सिकाएको थियो उनलाई ।
संघर्षपुर्ण जीवनको अनुभुती गरेकी करिष्मा व्यवसायिक यात्रा सुरु भएको थियो २०६५ सालदेखि । त्यसपछि उनको यात्रा निरन्तर अगाडी बढिरहेको व्यवसायमा ।
त्यही सफलताले उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षको उम्मेदवार बनाएको छ । आगामी शनिबार हुन लागेको संघको निर्वाचनमा सफलता हासिल गर्न अहिले करिष्मा कडा मिहिनेतका साथ मतदाताबिच हिडिरहेकी छिन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, घरबारीटोलबाट उनले व्यवसायीक यात्रा सुरु गरेकी थिईन् । सानै उमेरमा विहे भएपछि अभाव र बाध्यताले व्यवसायतिर लागेको थियो उनलाई ।
समयक्रमसँगै व्यवसायमा सफलता हासिल गर्दै उनले नेपालगन्ज पुष्पलाल चोकमा नेपाल ट्रेडर्स एण्ड सप्लायर्स नामक किराना पसल संचालन गरिरहेकीछिन् ।
२०४४ सालमा कालिकोटमा जन्मिएकी उनी बैबाहिक बन्धनमा बाँधिएपछि नेपालगन्ज आएकी हुन् । नेपालगन्ज आईसकेपछि उनी व्यवसायसंगै अन्य क्षेत्रमा पनि सक्रिय भएर काम गरिरहेकी छिन् । खेल, साहित्य पत्रकारिता संगै राजनितिक क्षेत्रमा पनि उनी अब्बल नेतृका रुपमा परिचित छिन् ।
व्यवसायिक क्षेत्रमा प्रयास गर्दागर्दै पनि असफल भएका व्यापारीहरु उनको नजरमा परेका छन् । आफु उपाध्यक्ष पदमा निर्वाचित भएपछि त्यस्ता असफल तथा साना साना व्यवसायीका लागि विशेष पहल गर्ने बताउँछिन् उनी ।
निर्वाचन नजिकिदैं गर्दा र घरदैलो तथा भेटघाट गरिरहँदा अधिकांश व्यापारीले चुनाव जितेर गईसकेपछि फर्केर नआउने, व्यापारिका समस्या नबुझ्ने, पसल चोरी हुँदा आगलागि हुँदा समेत मतलब नगर्ने गरेको गुनासो उनीसँग गरेका छन् । त्यसैले अबको नेतृत्वले यस्ता समस्याको सम्बोधन गर्न अग्रज र बुद्धिजिविहरुसंग सर सल्लाहमा काम गर्नु पर्ने बताउँछिन उनी ।
करिष्मा भन्छिन्, ‘एक्लैले कुनै पनि काम सम्भव हुँदैन । अबको नेतृत्वमा हाम्रो टिम आयो भने नेपालगन्जलाई आधुनिक रुपमा औद्योगिक व्यापारिक हव बनाउनेछौं । भारतीय ग्राहकलाई समेत नेपालगन्जमा आकर्षण गर्ने खालका व्यवसाय गर्ने वातावरणको सिर्जना गर्छौ ।’
करिष्मा व्यवसायसंगै भेरी साहित्य समाजकी जिल्ला सदस्य, लुम्बिनी वाङमय प्रतिष्ठान् बाँके जिल्ला कोषाध्यक्ष, नेपाल बुद्धिचाल संघ बाँकेको निवर्तमान जिल्ला अध्यक्ष समेत भएर काम गरिरहेकीछिन् ।