उद्योग वाणिज्य संघको मुद्दामा ‘एमिकस क्युरी’ माग
Monday, August 28th, 2023, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको क्रममा उत्पन्न विवादको अनुसन्धान गर्नको लागि अदालतले ‘एमिकस क्युरी’ माग गरेको छ । अदालतले अति संवेदनशील मुद्दाको बारेमा फैसला गर्नका लागि अदालतलाई निस्पक्ष रुपमा सहयोग गर्नको लागि एमिकस क्युरीको माग गर्ने गरिन्छ । जुन निकै कम मुद्दामा हुने गरेको गर्दछ ।
नेपाल कानुन आयोग परिच्छेद –५ अनुसार अदालतको सहयोगी ‘एमिकस क्युरी’ को सहयोग लिन सक्ने व्यवस्था गरिएको छ । इजलासले आफु समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भिरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान गरेको कुनै व्यक्तिलाई इजलासको सहयोगी ‘एमिकस क्युरी’ को रुपमा झिकाई निजको राय लिन सक्नेछ ।
यसरी झिकाइएको व्यक्तिले इजालासमा उपस्थित भई सम्बन्धित विषयमा आफनो तटस्थ राय प्रस्तुत गर्नुपर्नेहुन्छ ।
सोमबार उच्च अदालत तुलसीपुर नेपालगन्जका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालले अल्कालिन अन्तरिम आदेश जारी गर्ने क्रममा अदालतको सहयोगीको रुपमा दुई जना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई वहस र पैरवीका लागि पठाईदिन उच्च अदालत वार एसोसियसन नेपालगन्जलाई पत्राचार गर्न आदेश दिइएको छ ।
मुद्दाको गाम्भिर्यतालाई दृष्टिगत गर्दा मिसिल संलग्न तथ्य आदेशको बैधानिकताको प्रश्न निराकरणको लागि अदालतको सहयोगीका रुपमा एमिकस क्युरी माग गरिएको हो ।