थारु समुदायमा लोप हुँदै गोड्ना गोडैना
Wednesday, August 30th, 2023, 8:27 pm
Kalpristha
अनोज थारु
नेपालगन्ज, १३ भदौ
बाँसगढी– ४ लक्ष्मणपुर गाँउकी सोमली थारु आफ्नै हात खुट्टामा कोरिएका चित्र(गोड्ना) र्हेर्दै एकोहोरिन्छन् । ७५ वर्षिया थारु ढोकामा बसेर हातखुट्टामा खोपिएका बुट्टा चित्र हर्दै कहिले मुस्कुराउने त कहिले भावक हुने गर्छिन् । एक छोरा, दुई बुहारी र एक नाती, एक नातिनीसँग बस्दै आएकी छिन् । श्रीमानको स्वर्गबास भएको एक बर्ष भयो । श्रीमान साथमा नभएपनि श्रीमानको लागि खोपिएको टीका हेर्दै श्रीमानको याद गर्छिन् । हात खुट्टामा चित्रीत फूला, मयूर, हरिन चुलो, बटुला हेर्दै दिन काट्ने गरेको उनले सुनाइन् । सोमलीले टीका खोप्नुको कारणबारे बिगत सुनाईन्– म दुई सन्तानको आमा भइसकेकी थिएँ । बाहिरबाट टीका खोप्ने टीकहरहरु घरमै आए । श्रीमानले टीका खोपाउन भनेपछि उनकै इच्छा पुरा गरेकी हुँ ।
थारु अग्रजको भनाई अनुसार, थारु समुदायमा टीका खोपाउनु भनेको बिवाहको प्रतिकको रुपमा पनि लिने गरिन्छ । एउटा बिवाहित महिलाले मात्रै हात र खुट्टाभरी टीका खोपाउने गर्छन् । यसले थारु समुदायको जिवनशैली समेत झल्काउने गर्दछ । खोपिएका टीकाहरुले मानिसको शौन्र्दय समेत बढाउने विश्वास गरिन्छ ।
५३ वर्षिया कल्पना चौधरी पनि आफनो हातखुट्टाको टीका हेरेर प्रफुल्ल हुन्छिन् । बाँसगढी नगरपालिका ४ बठुवाताल गाँउकी चौधरी आगनको मचीया(खटुली)मा बसेर बिभिन्न टीकाहरु हेर्दै आफैभीत्र मुस्कुराइरहेकी छिन् । गोरो बर्णकी कल्पनाको जिउडाल पनि मिलेको छ भने हातको कुइनो र खुट्टाको घँुडासम्म बिभिन्न आकारमा खोपाएको चित्रले थप सुन्दरता बढाएको छ । गोड्ना देखाउदै उनले बिगत सम्झीइन् । हातको कुइनो सम्म रातो ब्लाउज र खुट्टाको घँुडासम्म सेतो गुनियो र घाँटीभरी रातो, पहेलो पोते र शिरमा झोबन्ना लगाएर हिंड्दा धेरैले आफुलाई फर्की फर्की हेर्ने गरेको सुनाईन । मुहारमा खुसी छर्दै उनले भनीन् –त्यही पहिरन अहिले पनि लगाएर हिंडे भने भर्खरै विवाह गरेकी महिला जस्तै देखीन्छौ भनेर प्रशंसा गर्छन् ।
कल्पनाले आफ्नो हात र खुट्टाभरी दाउरा, आगो बाल्ने चुलो, खाना पकाउने बटुला, भान्टा, हसिया, बस्नको लागि मचिया, खुट्टामा लगाउने पाउजु ( पायल), पिठो चाल्ने चन्नी, सिट्ठा (जाँड बनाइ सकेपछि बाँकी रहेको सिटो), मयूर, घोडा र हरिन लगायत बिभिन्न खाले टीका खोपाएकी छिन् । उनको बुझाईमा टिका खोप्नु भनेको एउटा गहना पनि हो ।‘मानिस नाङगै जन्मिन्छ, नाङगै मरेर जान्छ । आफ्नो साथमा केही पनि जाँदैनन् । जानेको भनेको यही टीका हो’ –त्यसैले पनि टीका खोपेको तर्क गर्छिन् । मृत्यपछि पनि टीका देखेर नै भगवान्ले स्वर्गमा लैजाने गर्छन् भन्ने विश्वास छ । जसले टीका खोपेको हुँदैन, त्यसलाई भगवानले भालाले रोपेर स्र्वग जानबाट रोक्ने गर्छन् भन्ने गरिन्छ ।
कसरी खोपाइयो त भन्ने सन्दर्भमा कल्पनाले टाढाको नाता पर्ने दिदि सासुको आमाबाट टीका (गोडना गोडैना) खोपाएको स्मरण गरिन् । खोपाउदा छाला नै सुन्नीने, दुख्ने गरेपनि विस्तारै कम हँुदै जाने गरेको उनले अनुभव सुनाइन् । कल्पनाकाअनुसार टीका खोपीसकेपछि रगतलाई सफा कपडाले पुछेर गाईको गोबरले त्यसैमा मिच्नु पर्छ । अनि मन तातो पानीले सफा गरेर सुकेको कपडाले पुछ्नु पर्छ । त्यसपछि हरियो दुबो ल्याएर फेरी तोरीको तेलमा चोपेर दुवोले खोपेको ठाँउमा तेल लगाई दिनु पर्छ । एक हप्तामा सबै सन्चो हुन्छ ।
टिका खोपाउदा तोरीको शुद्ध तेल, माटोको एउटा दियो, माथिबाट घोप्टाउने एउटा माटोको हाँडी र बत्तिको लागि कपास चाहिदो रहेछ । कल्पनाका अनुसार, कपासको बाति काटेर माटोको दियोमा तोरीको तेल हालेर बाल्ने, माथिबाट माटोको हाँडी घोप्टाएर बेला बेला त्यसको कालो मोसो झार्नु पर्छ । ताकि त्यो कालोमोसो झरेर दियोमा नखसोस्, दियो निभ्न नपाओस् । यसरी बनेको कालो मोसोमा हुक्काको पानी हालेर फिट्ने र एउटा काठको लठ्ठीले केको चित्र बनाउने हो, त्यो चित्र शरीरको हातखुट्टमा कोर्ने, त्यसपछि त्यसैमा २÷३ वटा सियो एकैमा बाँधेर खोप्ने गरिन्छ ।
कल्पनाले बिगत कोट्याइन । टीका खोपाउदा एउटा खुट्टाको २० रुपैँया लिने गरिन्थ्यो । अनि जसले खोपाउने हो, उसैले सबै समाग्री लिएर जानु पर्ने हुन्थ्यो । त्यती बेला पढने काम हुन्थेन् । साथीको लह लहैमा हीडीन्थ्यो । हातखुट्टा, घाँटी र अनुहारमा खोप्ने र खोपाउने गर्ने गरिन्थ्यो । तर आजभोली टीका खोप्ने चलन हराउँदै गएकोमा उनलाई चिन्ता छ । परम्परागत चलन कम्तीमा नहराओस् भन्ने हो । आजभोली टीका खोपाउन मन लाग्यो भने मेसिनबाटै खोपाउने गरेका कारण पनि लोप हुन थालेको हुन सक्ने चौधरीको अनुमान छ ।
महिला मात्रै नभएर पुरुषहरु पनि टीका खोपाउने गर्दथे । महिलाहरु हातको कुहिनो र खुट्टाको घुँडासम्म टीका खोपाउने गर्दथे भने पुरुषहरु हातमा मात्रै आफ्नो नाम, फूला र चराको चित्र जस्ता टीका खोपाउने गर्थे । बाँसगढी नगरपालिका ५ लक्ष्मणपुर गाँउका मंगत राम थारुले आफनो अनुभव सुनाए – “गोडना गोडाई लो” भन्दै बाहिरबाट देसी महिला÷पुरुषहरु आउने गर्दथे । पछि गाउँमै धेरै जनाले टीका खोप्न सिकिसकेको उहाँहरुबाटै हातमा आफ्नो नामको टीका खोपाए । टीका खोप्ने समाग्री सियो बाहेक अरु केही पनि नभएकोले असुरक्षाको महासुश गर्दै गाँउघरमा टीका खोपाउन छोडेको उनले बताए ।
थारु साहित्यमा बिद्यावारीधी (पिएचडी) गर्नु भएका डाक्टर कृष्णराज सर्वहारी खुला सीमा भएकाकारण भारतबाट यो चलन आएको हुन सक्ने बताउँछन् । कसैले पनि आक्रमण गर्न आँउदा महिलाहरु अशुरक्षित हुने गरेकाकारण हातखुट्टामा टीका खोपेपछि राम्रो देखिदैनन् र छोरी चेली सुरक्षित हुन्छन् भन्ने आशयले यो चलनले निरन्तरता पाएको डा. चौधरीको तर्क छ । चौधरीकाअनुसार थारु समुदायमा सिन्दुर हाल्ने चलन थिएन, तर बिवाहित महिलाले अनिर्वाय रुपमा टीका छेडाउनु पथ्र्यो । बिवाह पछि श्रीमतिले टिका खोपाइन भने मृत्युपछि स्वर्गमा श्रीमानले श्रीमतीलाई खोज्न सजिलो हुन्छ भन्ने बिश्वासले टीका खोपाउने गरेको पनि पाइन्छ ।
पहिला सबै बिवाहित महिलाहरु अनिवार्य टीका खोप्नु पर्छ भन्ने थियो तर आजभोली टिका खोपाउने ऐच्छिक बिषय जस्तै भएको कारण टीका खोपाउने चलन हराउदै गएको चौधरीको तर्क छ । त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री सुरेश ढकालका अनुसार नेपालमा थारु समुदाय बाहेक राजवंशी, धिमाल लगायतका आदिबासीहरुमा पनि ट्याटु खोप्ने चलन रहेको छ । टीकनिया खोप्ने चलनसँग एउटा बिश्वास र मिठक गाँसीएको छ । टिकानिया खास सिम्बोलिक हुन्छ । त्यसले केही अर्थ दिइरहेको हुन्छ । प्रथाजनित संस्कार, संस्कृतिहरु परिवर्तन भइरहन्छन् तर त्यसलाई निरन्तरता दियो भने थप अध्यनको पाटो बन्न सक्छ ।