आज रक्षाबन्धन र गाईजात्रा मनाइँदै
Thursday, August 31st, 2023, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपलागन्ज, १३ भदौ
नेपालको तराई क्षेत्रमा आज दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाइदै छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
नेपालगन्जमा आज नेवार समुदायले सामुहिकरूपमा गाईजात्रा मनाउदै छन् । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगन्जमा गाईजात्रा मनाउन लागिएको हो । नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँके सह–आयोजनामा आज गाईजात्रा मनाउन लागिएको हो ।
नेपालगन्जमा भव्य गाईजात्रा मनाउन बाँकेमा रहेका १० गुठीहरुको संयुक्त आयोजनामा गाईजात्रा हुने नेवाःपुचः बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आज भेरी इङलिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्याली शुरु हुने र र्यालीले नेपालगन्ज नगर परिक्रमा गरिने छ ।