अझै पुरिएनन बत्ती जडानको लागि खनिएका खाल्डा
Thursday, August 31st, 2023, 7:11 pm
Kalpristha
सडक वत्ती जडान गर्नको लागी छुट्याएको ५ करोड ९६ लाख भ्याट समेतले सम्झौता गरी टक्सन ईनर्जी प्रालि काठमाडौंले निर्माण कार्य सुरु गरेको थियो । तर सडक विभाग र नेपालगन्ज उप–महानगरपालिकाको गैरजिम्मेवारीपन कारण सडक अस्तव्यस्त बनेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ भदौ
बाँकेको नेपालगन्ज उप–महानगरपालिकाको बजार क्षेत्रमा सडक बत्ती जडान गर्नको लागि खनेका खाल्डाखुल्डी व्यवस्थापन नगरेका कारण दुर्घटनाको जोखिम बढेको छ ।
चारलेन सडक अन्र्तगत सुर्खेत रोडमा खनिएका खाल्डाखुल्डीका कारण सवारी साधनमा संचालन गर्न समेत समस्या हुँदै आएको स्थानीय जलालुद्दिन अन्सारीले बताए । चोकको मुख्य स्थानमा खाल्डो खनेर नपुर्दा दुर्घटनाको सम्भावना पनि बढेको बताउँछन महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी नेता प्रकाश विश्वकर्मा । उनिहरु सडक डिभिजन कार्यालय र नेपालगन्ज उप–महानगरपालिकाको बेवास्ताका कारण दिनहुँजसो स्थानीय जनताले सास्ती बेहोर्नु परेको समेत गुनासो गर्छन् ।
सडक विभाग र नेपालगन्ज उप–महानगरपालिकाले सडक खनेर अलपत्र पार्दा यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । २०८० मंसिर ७ गते सम्मको अवधिमा सक्नेगरी चारलेन सडक अन्र्तगत सुर्खेत रोडमा बत्ती जडानको लागी टक्सन ईनर्जी प्रालि काठमाडौंले २०७९ मंसिर ६ गते सम्मको अवधिमा सक्नेगरी कामको जिम्मा लिएको थियो । तर समयमा काम नगर्दा सडकमा खनिएका खाल्डाखुल्डी अलपत्र परेका छन् ।
जसका कारण दिनहुजसो दुर्घटना हुने गरेको छ । सडक वत्ती जडान गर्नको लागी छुट्याएको ५ करोड ९६ लाख भ्याट समेतले सम्झौता गरी टक्सन ईनर्जी प्रालि काठमाडौंले निर्माण कार्य सुरु गरेको थियो । तर सडक विभाग र नेपालगन्ज उप–महानगरपालिकाको गैरजिम्मेवारीपन कारण सडक अस्तव्यस्त बनेको छ ।
जिर्ण सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै चौतर्फी आलोचना भएपछी नेपालगन्ज उप–महानगरपालिकाको ध्यानाकर्षण भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले पिचिङ गर्ने ,बत्ती जडान गर्ने र मिटरको व्यवस्थापन गर्ने वाहेक सबै सडक डिभिजन कार्यालय अन्र्तगत ठेक्का भएको कारण सडक डिभिजन कार्यालयकै जिम्मा भएको बताए ।
यता सबै काम सकिसकेको र पिच गर्ने काम मात्रै बाँकी रहेको सडक विभाग सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । मौसमका कारण केही काम बाँकी रहेको सडक विभाग सडक डिभिजन कार्यालयले जनाएको छ ।