मानव बेचविखनको अवस्था बारे पत्रकारसँग अन्तरक्रिया
Sunday, October 29th, 2023, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ कात्तिक
मानव बेचविखन, लैङ्गिक हिंसा तथा बाल बिवाहको अवस्थाको बारेमा पत्रकारहरु संग आइतबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । आइएनएफ नेपाल बाँकेको आयोजनामा मानव बेचविखन तथा ओसार पसार बिरुद्ध मिडियाको भुमिका र संलग्नता विषयक कार्यक्रम आयोजना गरेर छलफल गरिएको हो । विगत केहि वर्ष देखि मानव बेचविखन तथा ओसारपसार बिरुद्धका परियोजना बाँकेको राप्तिसोनारी गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगर पालिकाका विभिन्न वडामा संचालन गरिएको परियोजना सुपरभाइजर हस्त विकले बताए ।
मानव बेचविखन तथा हिंसा अन्त्य गर्नको लागि जनचेतनाको कमी, सम्बन्धित निकायको बिचमा समन्वय नहुनु र दण्ड सजाय दिनुमा मात्र केन्द्रित हुनुले चुनौति थपिरहेको उनले बताए । बदलिदो समय संगै मानब बेचविखन तथा ओसार पसारका स्वरुपहरु पनि परिमार्जित हुदै आइरहेका छन् ।
बदलिँदो स्वरुपहरुको बिचमा मानब बेचविखन तथा ओसार पसार अन्त्यका लागि काम गर्नु निकै चुनौति पुणर् रहेकोले संचार क्षेत्रले महत्वपुणर् भुमिका खेल्न आवश्यक रहेको बताइयो । जन समुदायमा चेतना स्तर बृद्धि गरि यस्ता घटनाको बारेमा सचेत गराउनु संचार क्षेत्रको अहम भुमिका रहेको हुन्छ । संचार माध्यमले तथा पत्रकारिताबाट मानब बेचविखन रोकथाममा चेतना र शिक्षा जगाउन मद्दत गरेर जिम्मेवारि निर्वाह गर्न सकिने बताइएको थियो ।
समुदायमा रहेका सम्बन्धित घटनाहरु खोजी गरि लेख गर्न सकिने, पिडित केन्द्रित रिपोर्टिङ, अन्र्तवार्ता र कथा कथन, वकालत र नीति रिपोर्टिङ, सहयोग, नैतिक रिपोर्टिङ गर्न सकिने र रिपोर्टिङ गरिएका विषय वस्तुको फलोअप गरे यस्ता घटना कमि गर्न सकिने छलफल गरिएको थियो । मानव बेचविखन समुदाय संग प्रत्यक्ष सम्बन्धित हुने भएकोले डिजिटल र सोसल मिडियामा समेत यस्ता विषयलाई जोड्नुपर्ने बताइएको थियो ।
यसैगरि लैङ्गिक हिंसाले समाजमा विकराल रुप लिएको हुनाले विभिन्न पालिकामा संचालित परियोजनाले समुदायका महिला तथा पुरुषहरुलाई चेतनामुलक तालिम प्रदान गरिएको छ । जसले गर्दा पारिवारिक मेलमिलाप हुने र हिंसाका घटनामा कमी आएका छन् ।
लैङ्गिक हिंसा पिडीत मध्ये ६६ प्रतिसतले कसैबाट पनि मद्दतको खोजि नगर्ने तथ्याङ्क रहेको छ । मानब बेचविखन तथा विभिन्न हिंसाका मुख्य कारणको रुपमा रहेको गरिबीलाई निवारण गर्नको लागि जोखिममा रहेका ब्यक्ति पहिचान गरि आर्थिक उपार्जनको लागि विभिन्न तालिम प्रदान गर्ने, आम्दानीको लागि ब्यवसाय गर्न बिँउ पुजी प्रदान गर्ने, हिंसामा परेकाहरुलाई औषधोपचार र कानूनी परामर्शको लागि आवश्यक आर्थिक सहयोग गर्ने लगायतका कार्य परियोजना अन्र्तगत गरिएको परियोजनाका सुपरभाईजर विकले बताए । उनका अनुसार समुदायमा घटेका मानव बेचविखन तथा ओसारपसार जन्य घटनाबाट उद्धार गरिएको छ ।
जसमा स्थानीय वडाहरुले सराहनिय भुमिका निर्वाह गरेका थिए । आगामी दिनमा समेत स्थान अनुसार आश्यक रहेका कार्यक्रम गर्ने योजना रहेको विकले बताए । उनले भने, ‘अहिले सम्म हामीले मानव बेचविखन तथा हिंसाजन्य घटना न्युनिकरणको लागि विविध कार्यक्रमहरु गरिरहेका छौँ र आगामी दिनमा पनि गर्ने नै छौँ जसमा संचार क्षेत्रको साथ र सहयोग अहम रहने छ ।’
परियोजना कार्यान्वयनका क्रममा उजागर भएका घटना र उद्धार गरिएका घटनाहरुलाई संचारले समेट्न सके अझ प्रभावकारी हुने उपस्थित पत्रकारहरुको भनाई रहेको थियो ।