विकृति नियन्त्रणमा बरघरको अग्रसरता
Wednesday, February 28th, 2024, 10:36 am
Kalpristha
अनोज थारु
बाँसगढी, १६ फागुन
बाँसगढी– ६ दाङपुर दमौली गाँउका चतुरमान थारुले गत बर्ष छोराको विवाह धुमधामसँग गरे । घरमा सन्तानको नाममा तीन ओटी छोरी र एउटा छोरा गरी ६ जनाको परिवार । घरमा छोरा एउटै भएकोले ऋण काढेर भएपनि उनले धुमधामसँग छोराको विवाह गरे । विवाहमा सबैको लागि कपडा लत्ता, गरगहना, जाँडरक्सी र खाना खर्च गरी करिव साढे तीन लाख जति नगद खर्च भयो ।
गत बर्ष छोरा कै विवाह गरेको ऋण तिर्नु थियो । त्यसमाथि यो बर्ष फेरी छोरीको पनि बिवाह गर्नु पर्ने अवस्था आइलाग्यो । ऋण काढेरै विवाह गर्ने मनस्थितीमा पुगिसकेका थिए । तर दाङपुर दमौली गाउँ भेलाले यो बर्ष देखि भोजकाजमा जाँडरक्सी बन्द गर्ने निर्णय गरेपछि थारुलाई केही राहत मिल्यो । यो निर्णयले विवाहमा लाग्ने करिव ४ सय लिटर जाँडरक्सीको पैसा बचेको उनले सहर्ष बताए । पैसा मात्रै नभएर समयको बचत हुनुका साथै भिडभाड पनि कम भएकोउनको बसझाई छ । श्रीमती रामकुमारी थारुले पनि एक्कासी गाँउभेलाले भोजकाजमा जाँडरक्सी बन्द गर्ने निर्णय गरेको सुन्दा धेरै खुसी लागेको बताईन ।

…………
उनी भन्छिन, हाम्रो समुदायमा भोजकाजमा जाँडरक्सी चलाउने गरीन्छ । छोराको बिवाह गरेपछि नै छोरीको विवाहको लागि तयारी गर्न सुरु गरिसकिएके थियो । तर भोजकाजमा जाँडरक्सी बन्द गर्ने निर्णय गरेको सुनेर धेरै खुसी लाग्यो–उनले निर्णयले ल्याएको खुसीबारे भनीन । थारु समुदायमा घरमा भोजकाज गर्नु छ भने बिशेषगरी महिलाहरु एक बर्ष पहिलै देखि नै चामलको जाँड बनाउने र जाँडलाई रक्सी बनाउने गर्दछन् । त्यसको लागि दिनभरी घरको काम गर्ने र फुर्सदको समयमा अथवा रातिको १२÷ १ बजेसम्म रक्सी पार्ने गरेको रामकुमारीले बताईन । जाँडरक्सी बनाउदा दाउरा, पानी बोक्नु पर्ने र फेरी फाल्नु पर्ने गर्दा निकै थकान लाग्छ । छोराको बिवाहमा जाँडरक्सी बनाउदा बिरामी समेत परे तर अहिले छोरीको भोजमा जाँडरक्सी बन्द गर्ने निर्णयले साह्रै खुसी लाग्यो, अहिले जाँडरक्सी बनाउन समेत बन्द गरेको रामकुमारी थारुले बताईन ।
चतुरमान र रामकुमारी जस्तै मन बहादुर थारुले पनि यो निर्णयबाट एकदमै चित्त बुझेको बताए । मन बहादुर थारुको परिवारमा ६ वटा छोरी र एउटा छोरा गरी ९ जनाको परिवार छन । उनले अहिले सम्म ४ जना छोरीको विवाह गरीसकेका छन् । यो बर्ष ५औँ छोरीको विवाह गरे । अझै एउटा छोरी र एउटा छोराको बिवाह गर्न बाँकी छ । यो बर्ष छोरीको विवाहमा करीव ३ लाख नगद पैसा खर्च भएको उनले बताइन । यो बर्ष गाँउभेलाले भोजकाजमा जाँडरक्सी बन्द गर्ने निर्णय नगरेको भए अझै बढी खर्च हुने उनको अनुमान थियो । मन बहादुरका अनुसार रक्सी एक सय रुपैँया बोतल र जाँड एक सय २०÷ ३० रुपैँया बोतल रहेको छ ।
दाङपुर दमौली गाँउमा तीन सय २६ घरधुरी रहेको छ । यो गाँउ सञ्चालन को लागि एउटा मुल बरघरसँगै ११ वटा सहायक बरघर पनि रहेका छन् । यही बरघर संस्थाले गाँउमा भोजभतेर हुदा जाँडरक्सी निषेध मात्रै नगरेर जरिवाना समेत तोकेको गाँउका मुल बरघर लौटन थारुले बताए । गाँउभेलाबाट सबैको रायअनुसार बिवाह र बर्थडे पार्टी जस्तो शुभ कार्यमा जाँडरक्सी बन्द गर्ने निर्णय गरिएको वरघर थारुले जनाए । नियम उलाङघन गरेको पाइएमा जाँडरक्सी खानेलाई १० हजार, खुवाउनेलाई पाच हजार र जो बाहिरबाट जाँडरक्सी खाएर भोजभतेरमा होहल्ला गर्छ भने त्यसलाई १५ हजार जरिवाना लिने निर्णय गरेको पनि मुल बरघर थारुले बताए । उनका अनुसार, यो निर्णयपछि गाँउमा ४ वटा भोज भयो, सबैले राम्रोसँग पालना गरेका छन् । भोज हुने घरमा शुभविवाहको ब्यानरसँगै मदिरा जन्य पदार्थ सेवन गर्दा ठूलो धन जनको क्षति हुने भएकोले मदिरा सेवन नगर्न नगराउन हार्दिक अनुरोध गर्दछौँ भनेर लेखिएको ब्यानर समेत टाँस्ने गरेका छन ।

…………
भोजकाजमा जाँडरक्सी बन्द गर्ने निर्णय दाङपुर दमौली गाँउमा मात्रै नभएर बाँसगढी ६ सतहरीया गाँउमा पनि लागु भएको छ । भोजकाज, पूजापाठमा जाँडरक्सी चलाउदा युवाहरुलाई मदिरा सेवन र कुलतमा फँसाउने जस्तो देखिएको कारण गाँउभेलाबाटै निर्णय गरेर बन्द गरेको गाँउका बरघर चुन्नुराम थारुले बताए । उनका अनसार, जाँडरक्सी सेवनले गाँउघरमा युवाहरु कुलतमा फस्ने जोखिम बढ्नुका साथै झैझगडा गर्ने, होहल्ला गर्ने र हत्या, हिंसा, बलात्कार जस्ता घट्नाहरु समेत दिन प्रतिदिन बढ्दै गएको कारण गाँउभेलाबाट निर्णय गरेर नै बन्द गरीएको हो । यो निर्णयले समाजमा शान्ति सुब्यवस्था कायम हुनुका साथै भोजकाज, पूजापाठमा खर्च समेत घटेको सतहरीया गाँउका बरघर चुन्नुराम थारुको दावी छ ।
थारु समुदायमा यस्ता बिभिन्न खाले कुरीति, कुसंस्कार र समाजमा अपच्य हुने खालका क्रियाकलापहरु रोक्न बाँसगढी नगरस्तरीय बरघर समिति समेत गठन भएको छ । अहिले थारु समुदायमा संस्कृतिको नाममा भित्रिएका बिकृतिहरु रोक्न यस बर्ष नगर बरघर संस्थाले बिभिन्न निर्णयहरु गरेको नगर बरघर समिति बाँसगढीका अध्यक्ष जोगिराम थारुले बताए । बाँसगढी नगर बरघर समितिका अध्यक्ष थारुको अनुसार, समितिले २०८० पुष १७ का दिन विाहमा जन्ती जाँदा ५१ जना भन्दा बढी नजाने, टिका फर्काउन २५ जना भन्दा बढी नजाने, रातीको १२ बजे देखि डिजे बजाउन नपाउने, रातीको १२ बजे भित्र खानपिन सक्ने, आफ्नो गाँउटोल सरसफाई गर्ने, कानुनले निषेध गरेको बालविवाह, अनमेल विवाह र बहुविवाह निषेध गर्ने र घर हेर्न, केटी माग्न र बिवाहको कुरा फिक्स गर्न जाँदा ६ जना भन्दा बढी नजाने जस्ता निर्णय गरेको छ ।

…………
बाँसगढी नगर बरघर समितिले गरेको यो निर्णय थारु समुदायमा बरघर संस्था गठन भएका सबै गाँउले पालना गर्ने गरेका छन् । यसरी बरघर संस्था गठन भएका गाँउहरुले आ आफ्नो समुदायमा रहेको संस्कृति तथा चालचलनमा देखिएको बिकृतिलाई अन्त्य गर्न लागेपछि धेरै खुसी लागेको बाँसगढी वडा नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्रीले बताए । उनले भने, बरघर संस्थाले गरेको यस्तो निर्णयले हामीलाई काम गर्न धेरै सहज बनाएको छ । बरघर संस्थाले गरेका निर्णय र कामले जनप्रतिनिधिको काममा समेत सहयोग गरेको वडाअध्यक्ष क्षेत्रीको बुझाई छ ।
गाँउ समुदाय सन्चालनको लागि नगर बरघर संस्थाले नीति नियम कानुन बनाएर संस्कार, संस्कृतिलाई थप व्यवस्थित गर्नु, गराउनु राम्रो रहेको अधिवक्ता कासीराम थारुले बताए । अधिवक्ता थारुका अनुसार सामाजिक ब्यवहार सुधार ऐनमा समेत बिवाह गर्दा ५१ जना भन्दा बढी जन्ती जान नपाउने भनेको छ । त्यो अनुसार जानु भनेको कानुनको बर्खीलाप हो । नगर बरघर संस्थाले गाँउ समुदाय सन्चालनको निम्ति जुन निर्णय गरेको छ, त्यो एकदमै राम्रो रहेको छ । बरघर संस्था आफैमा एउटा दर्ता भएको संस्था हो । बरघर संस्थाले बनाएको ऐन कानुन अनुसार कोही कसैले उलङ्घन गर्न पाउदैन ।
यति कसैबाट उल्लङ्घन भयो भने कानुन अनुसार सजाय समेत हुने अधिवक्ता थारुले बताए । यसरी बरघर संस्थाले निति नियम बनाएर गाँउ समुदायमा लागु गर्नु भनेको समाजमा एक रुपता कायम गर्नु पनि हो । यसले समुदायमा रहेका बिकृतिको अन्त्य हुनुका साथै समुदायको पुख्र्यौली संस्कार, संस्कृति संरक्षणमा समेत टेवा पु¥याउने देखिन्छ । त्यसैले बरघर संस्थाले गरेको यस्तो निर्णय सबै समुदायले लागु गर्नु पर्ने आवश्यक देखिन्छ ।