बिद्युत प्राधिकिरण कर्मचारीको लुम्बिनी प्रदेशस्तरीय भेटघाट कार्यक्रम सम्पन्न
Monday, March 11th, 2024, 6:46 pm
Kalpristha
रबिन्द्र घिमिरे
नेपालगन्ज, २८ फागुन
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश आधिकारिक ट्रेड युनियनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय मैत्रीपूर्ण वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आधिकारिक ट्रेड युनियनले बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित ढकेरीमा मैत्रीपूर्ण भेटघाटको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले नेपाल विद्युत प्राधिकरणले कुनै कर्मचारीलाई काखा, कुनैलाई पाखा गरेको बताउनु भयो ।
आधिकारिक ट्रेड युनियनकै अडान र कर्मचारीको मिहिनतका कारण विद्युत प्राधिकरण नाफामा पुगेको बताए । विद्युत प्राधिकरणले कसैलाई भातमा मासु लुकाएर दिने त कसैलाई भातमा आलु देखाएर दिने गरेको समेत उहाँले बताउनु भयो ।
भट्टराईले अन्य ट्रेड युनियनले विरोध गर्दा पनि कर्मचारीले पाउने सेवा सुविधामा आधिकारिक ट्रेड युनियनले निर्णय गराएर सेवा सुविधामा वृद्धि गरेको बताउनु भयो ।
उहाँले आवश्यकताका आधारमा हरेक कार्यालयमा शिशु स्याहार केन्द्र, कर्मचारीका लागि ५० लाखको अक्षय कोष स्थापना, कर्मचारी कल्याणकारी कोषमा वृद्धि, गैर हाजिरीका कारण ज्याला काट्ने प्रवृतिको अन्त्य गराउने लगायत कर्मचारी संघले बोलेका कुराहरू पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश आधिकारिक ट्रेड युनियनका अध्यक्ष दुर्गाप्रसाद जैसीको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईको प्रमुख आतिथ्यता, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश आधिकारिक ट्रेड युनियनका पूर्व सह–अध्यक्ष प्रमिला ढुंगाना र विशिष्ठ अतिथि नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख हरीप्रसाद पाण्डेलगायत केन्द्रीय तथा विभिन्न जिल्लाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
साथै कार्यक्रममा बोल्ने वक्ताहरुले विद्युत प्राधिकरणमा वैज्ञानिक रूपमा सरुवा गर्नु पर्ने, कर्मचारीका समस्यालाई जगजगाउनु पर्ने, ज्यालादारी समस्या समाधान गर्नु पर्ने, नीतिगत निर्णयलाई कार्यान्वयन गर्नु पर्ने विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा लामो समयदेखि विद्युत प्राधिकरणमा काम गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश आधिकारिक ट्रेड युनियनका सह–सचिव भाईराजा श्रीवास्तवले गरेका थिए ।