सैनिकको खेल मैदानमा खुला प्यारापिट निर्माण सुरु
Tuesday, March 12th, 2024, 12:24 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २७ फागुन
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ सैनिकमा रहेको खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ । मैटहवा माविको खेल मैदानमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा करिब ४ सय दर्शक क्षमता रहेको प्यारापिट बन्न लागेको हो । उक्त प्यारापिट निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ४० लाख र स्थानीय स्रोतबाट ४ लाख रुपैयाँ खर्च गरेर प्यारापिट निर्माण हुँदैछ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले प्यारापिटको जगको शिलान्यास गरेसँगै निर्माण कार्य अगाडी बढेको छ । प्यारापिट निर्माणसँगै खजुरा गाउँपालिकाको सैनिक क्षेत्रमा फुटबल खेलका गतिविधि आयोजनामा सहज हुने स्थानीयहरुको विश्वास रहेको छ । सैनिकमा रहेको जय किसान स्पोर्टस क्लबले यहाँ फुटबलका गतिविधिहरु आयोजना गर्दै आएको छ ।
खजुरा–१ स्थित मैटहना माविको खेल मैदानमा सुरुआती चरणमा पुर्व तर्फ प्यारापिट निर्माण गरिदैंछ । निसान विल्डर्सले उक्त योजना निर्माणको ठेक्का पाएको छ । ४४ लाख बजेटमा पहिलो चरणको काम हुन लागेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनीवर क्षेत्रीले बताउनु भयो । प्यारापिटको सम्पुर्ण कार्य सम्पन्न गर्नको लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने उहाँले बताउनु भयो ।
सैनिकका जनताको भावना अनुरुप प्यारापिट निर्माणको लागि बजेट व्यवस्थापन गरिएको लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले बताउनु भयो । उहाँले भन्नु भयो,‘मैले शिलान्यास गरेको छु । यस योजनाको बाँकी काम दुई वर्षमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छु । गाउँ विकास हुन त्यहाँको हरेक क्षेत्रको विकास हुनु जरुरी छ । युवाहरुलाई स्वस्थ बनाउन खेलकुद अति आवश्यक छ । सैनिक क्षेत्रमा खेलकुदमा धेरै आर्कषण छ । त्यो कुरालाई ध्यानमा राखेर हामीले बजेट बिनियोजन गरेका हौं ।’
खजुरा सैनिकमा हरेक वर्ष पुर्व राष्ट्रिय खेलाडी श्याम थापा स्मृती कप फुटबल प्रतियोगिता हुने गरेको छ । प्रतियोगिताको दौरान दर्शकलाई बस्न निकै कठिन हुने गरेको थियो । अब फुटबल प्रतियोगिता हुँदा दर्शकहरुलाई सहज रुपमा खेल हेर्न मिल्नेछ । मैटहवामा प्यारापिट निर्माणमा सक्रिय भएर लागेका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रले प्रदेश सभासद कुर्मीलाई धन्यवाद दिदैं बाँकी कामको लागि आगामी वर्षमा बजेट बिनियोजन गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘सैनिक फुटबलले चिनिएको गाउँ पनि हो । यहाँबाट थुप्रै प्रतिभाशाली खेलाडी जन्मिसक्नु भएको छ । तर यहाँ एउटा गतिलो रंगशाला छैन । मैटहवा माविमै भएको मैदानलाइ हामीले मिनि रंगशालाको रुपमा विकास गर्ने योजना बनाएको छौं । त्यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।’

…………….
योजना निर्माणको ठेक्का पाएको कम्पनी निसान बिल्डर्स प्रमुख मुकेश खड्काले करिब चार महिना पुर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित काम अगाडी बढाएको बताउनु भयो । मैटहवा माविको खेल मैदानमा प्यारापिट निर्माणमा सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक शिव शंकर रोकाय क्षेत्रीले प्रदेश सभा सदस्य कुर्मीलाई धन्यवाद दिदैं विद्यालयको अन्य भौतिक पुर्वाधारको स्तर उन्नतीमा सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
सैनिकमा निर्माण हुन लागेको प्यारापिट सहितको खेल मैदान तेस्रो हो । यसअघि खजुराको डि गाउँको खेल मैदान र शुक्र भलिबल रंगशालामा प्यारापिट निर्माण गरिएको छ ।