नेपालगन्ज नाकाबाट प्लाइउड निकासी ठप्प
Tuesday, March 12th, 2024, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ फागुन
भारतले नेपालबाट प्लाइउड निकासी रोक्न एकाएक ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) प्रमाणपत्र हुनुपर्ने प्रावधान ल्याए सँगै नेपालगन्ज नाकाबाट प्लाइउड निकासी ठप्प भएको हो । फागुन १८ गतेदेखि कार्यान्वयनमा ल्याएको यो प्रावधानसँगै नेपालबाट प्लाइउड निकासीमा अवरोध सुरु भएको छ । बीआइएस प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधानसँगै नेपालगन्जलगायत भैरहवा र कृष्णनगर भन्सारबाट प्लाइउड निकासी ठप्प भएको छ ।
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सवा चार अर्ब रुपैयाँ बराबरको प्लाइउड निकासी भएपछि भारतले बीआइएस प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधान ल्याएको हो । नेपाली सामान निकासी राम्रो हुनेवित्तिकै भारतले गैरभन्सार अवरोध गर्दै आएको छ । निकासी बढ्न थालेपछि उद्योगीले निकासी रोक्न गैर भन्सार अवरोध गर्ने अनुमान गरेका थिए ।
नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार फागुन १८ यता विराटनगर र काँकडभिट्टा नाकाबाट मात्र प्लाइउडको निर्यात भइरहेको छ भने नेपालगन्ज, कृष्णनगर र भैरहवा नाकाबाट ठप्प छ । ओम उडका सञ्चालक एवम् संघका कोशी प्रदेश अध्यक्ष सीताराम अग्रवालले पूर्वका उद्योगले काँकडभिट्टा र विराटानगर नाकाबाट प्लाइउडको निर्यात गरिरहेको जानकारी दिए ।
संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेपालगन्ज शिखर प्लाईका सञ्चालक चम्पालाल बोथडाले नेपालगन्ज नाकाबाट फागुन १८ यता प्लाइउडको निर्यात हुन नसकेको बताए । उद्योगी बोथडाका अनुसार भारतीय भन्सारले नेपालका उद्योगले बीआइएस नलिएको भन्दै रोकेपछि निर्यात अवरुद्ध भएको हो । भैरहवाको भुसाल प्लाइ उद्योगका अमृत भुसालले पनि कृष्णनगर र भैरहवा नाकाबाट निर्यात हुन नसकेको जानकारी दिए ।
केन्द्रीय अध्यक्ष घिमिरेका अनुसार नेपाल र भारतबीच २००१ मा भएको व्यापारिक सन्धिवमोजिम नेपालबाट भारततर्फ निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले रोक्न मिल्दैन । नेपाल सरकारले प्लाइउडको नियतमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि निर्यातलाई आक्रामक बनाएका थिए । गत वर्षको बजेटमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय सरकारले गरेको थियो ।
नेपालका उद्योगीले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४ अर्ब २१ करोड १४ लाख रुपैयाँ बराबरको प्लाइउड भारततर्फ निर्यात गरिसकेका छन् । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १६ करोड २३ लाख बराबरको मात्र निर्यात गरिएको थियो । गत आर्थिक वर्ष २०७९–८० मा ४ अर्ब ७० करोड ५२ लाख, २०७८–७९ मा ३५ करोड २३ लाख र २०७७–७८ मा १ करोड ४६ लाखको प्लाइउड निर्यात भएको विभागले जनाएको छ ।
केन्द्रीय अध्यक्ष घिमिरेले अवरोध नभएमा चालु आर्थिक वर्षमा ८ अर्बभन्दा बढीको प्लाइउड निर्यात हुने दाबी गरे । नेपालमा प्लाइउडका ७५ वटा उद्योग छन् । सबैभन्दा बढी कोशी प्रदेशमा ३४ वटा छन् । प्लाइउडको उत्पादनमा ७० देखि ७५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग भइरहेको उद्योगीको दाबी छ ।
स्रोतः बिजमान्डु