बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि
Wednesday, August 28th, 2024, 4:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १२ भदौ
बंगलादेशले पहिलोपल्ट उमेरसमूहको साफ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको साफ यु–२० को फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
उमेरसमूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने ह्याट्रिक गर्न चुकेको छ । बंगलादेशको जितमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरे । नेपालका लागि समीर तामाङले एक गोल फर्काए ।
९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियोे। करिब २५ यार्डबाट नीराजन धामीले माथिल्लो बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गर्दै बचाए ।
राजनले सिर्जना गरेको अर्को अवसर नेपालले २१ औं मिनेटमा गुमायो । दुई बंगलादेशी डिफेन्डर एकआपसमा जुध्न पुग्दा नीराजनले कट पास दिएका थिए । तर, अनमार्कमा रहेका अविनाश स्याङ्तानको प्रहारले पोस्टको दिशा लिन सकेन । २५औं मिनेटमै नेपालले पहिलो परिवर्तन गरेको थियो । लछु थापाको स्थानमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले विंगर अनिल बम्जनलाई मैदान छिराए ।
पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लियो । नेपाली डिफेन्डर राम थापाले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएका थिए । प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो ।
मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । इस्लाम सकिबले दिएको हुक बललाई राजीब हुसेनले हेडिङ गरेका थिए । तर, गोलकिपर जियारथ शेख बिट हुँदा गोल लाइननजिक रहेका मिराजुलले हेडिङमार्फत बललाई जाली चुमाए । जारी प्रतियोगिता उनको यो चौथो गोल हो ।
७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे । मिराजुलले बक्सबाट दिएको बललाई लामो रेन्जमा उनले जाली चुमाए । त्यसको १० मिनेटमा समीरले गोल गर्दै खेल ३–१ ल्याए ।
राम थापाको बललाई बंगलादेशी डिफेन्डरले हेडर गर्दै बचाउने प्रयास गरेका थिए । तर, राम्रोसँग उक्त बल क्लियर हुन नसक्दा समीरले बललाई जाली चुमाए । प्रतियोगितामा समीरको यो दोस्रो गोल हो । यसअघि समूहचरणमा बंगलादेशविरूद्व नै उनले गोल गरेका थिए ।
इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे । रब्बीले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले रोक्ने प्रयास गरेका थिए । तर, बिट हुँदा उनले वान टचमा गोल गरे ।