सहकारीलाई व्यवस्थित बनाउन सूचना प्रविधि तालिम
Tuesday, December 17th, 2024, 7:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुष
नेपालगन्ज उप–महानगरपालिकाले सहकारीलाई व्यवस्थित र विश्वसनीय बनाउन सूचना प्रविधि तालिम दिएको छ । सहकारी शाखाको आयोजनामा सञ्चालित दुई दिने तालिममा सहकारीलाई कसरी सूचना प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको छ ।
शाखा प्रमुख अधिकृत प्रविण कुमार रानाका अनुसार तालिममा कोपोमिससम्बन्धि समस्या समाधान, सहकारीको सफ्टवेयर वा इन्टरनेट चलाउँदा जोगिने तरिका, साइबर सेक्युरिटी, सहकारीको डिजिटल फर्म्याटमा कसरी आफ्नो उपस्थिति देखाउने अर्थात प्रभावकारी ’डिजिटल प्रिजेन्स’ लगायतका विषयमा प्रशिक्षित गरिएको छ ।
सहकारीका ३० जना प्रमुख÷प्रतिनिधि सहभागी तालिममा शाखा प्रमुख अधिकृत राना, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमला र आइटी विज्ञ शितल थपलियाले प्रशिक्षण दिएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले जानकारी दिइन् । तालिम समापन कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले पछिल्लो समय सहकारीप्रतिको खस्किँदै गएको विश्वास फर्काउन अति जरुरी रहेको बताए । उनले सूचना प्रविधिको अहिलेको युगमा समग्र सहकारी प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता देखेर तालिम सञ्चालन गरिएको बताए ।
सहकारी शाखाले भोलिदेखि विद्यालयमा सहकारी शिक्षा कार्यक्रम पनि सुरु गर्दैछ । हरेक बर्ष सञ्चालन भइरहेको यो कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको सहकारी शाखा प्रमुख अधिकृत रानाले बताए ।
उनले विद्यालय तहमा विद्यार्थीलाई सहकारीबारे सचेतना जागृत गर्न प्रत्येक बर्ष विद्यालयमै गएर सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यसपटक ६ वटा विद्यालयमा यो कार्यक्रम आयोजना हुँदैछ । महेन्द्र मावि, आदर्श मावि, मंगलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम गर्न थालिएको हो ।