एसियन पेन्ट्स च्याम्पियन्स कप ट्रफी नेपालगन्जमा अनावरण
Friday, August 28th, 2026, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौं
विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले देशका ७ वटै प्रदेशमा सञ्चालन गरिने ‘एसियन पेन्ट्स च्याम्पियन्स व्वाइज यु-१८ अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता’ को मुख्य ट्रफी अनावरण गरिएको छ।
द हिमालयनको आयोजनामा, एसियन पेन्ट्सको मुख्य प्रायोजन तथा बीवाईडी र एनसेलको प्रायोजनमा ७ वटै प्रदेशमा आयोजना हुने प्रतियोगिताको मुख्य ट्रफी बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको हो।
नेपालगन्जस्थित होलिल्याण्ड माध्यमिक विद्यालयमा आयोजित ट्रफी अनावरण कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख महेश चन्द, नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोर्ट्सको अर्डिनेटर घनश्याम थापा, होलिल्याण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा थापालगायत खेलकुदकर्मी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूले संयुक्त रूपमा ट्रफी अनावरण गरेका थिए।
ट्रफी अनावरण समारोहलाई सम्बोधन गर्दै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख महेश चन्दले प्रतियोगिताका सम्पूर्ण खेलहरू नेपालगन्ज रंगशालामा सञ्चालन गर्न आग्रह गरे।

………
नेपालगन्जमा खेलकुदका लागि आवश्यक पूर्वाधार भए पनि निरन्तर रूपमा खेल गतिविधि सञ्चालन नहुँदा उपलब्ध संरचना क्रमशः जीर्ण बन्दै गएको उनको भनाइ थियो।
उनले खेलकुद पूर्वाधारको संरक्षण र सदुपयोगका लागि नियमित रूपमा राष्ट्रिय तथा स्थानीयस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको समेत बताए।
कार्यक्रममा प्रतियोगिताका राष्ट्रिय कोअर्डिनेटर मधुसुदन उपाध्यायले नेपाली फुटबलको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको बताए। स्थानीयस्तरमै खेलकुद क्षेत्रमा लगानी गर्दै प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्न सके नेपाली फुटबलको भविष्य अझ उज्ज्वल बन्न सक्ने उनको भनाइ थियो।
उनले देशभर रहेका प्रतिभाशाली युवा खेलाडीलाई पहिचान गरी उनीहरूको क्षमता विकास गर्न विद्यालयस्तरका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
यसैबीच, स्थानीय आयोजक नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापाले प्रतियोगिताको औपचारिक उद्घाटन २०८३ भदौ १६ गते महेन्द्र रंगशाला, नेपालगन्जमा हुने जानकारी दिए।
विद्यालय तहबाटै फुटबल प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘एसियन पेन्ट्स च्याम्पियन्स व्वाइज यु-१८ अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता’ ले देशभरका युवा खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। ट्रफी अनावरणसँगै प्रतियोगिताको उत्साह थपिएको छ।
अब ७ वटै प्रदेशका युवा फुटबल खेलाडीहरूमा आफ्नो टोलीलाई च्याम्पियन बनाउँदै प्रतिष्ठित ट्रफी उचाल्ने सपना र प्रतिस्पर्धात्मक भावना झनै बढेको छ ।