नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी सुरु
Thursday, January 30th, 2025, 10:25 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, माघ १७ गते
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सचिवालय उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा सचिवालयको उद्घाटन गर्नु भएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा आगामी फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुँदैछ । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्दै नयाँ उद्यमी बन्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष महिला उद्यमी संघ नेपाल बाँकेले प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसर पार्कमा प्रदर्शनीको आयोजना गरिने आयोजकले जनाएको छ ।
उपप्रमुख थापाले स्थानीय सरकारको पहिलो कार्यकालमा महिला उद्यमी संघ नेपाल बाँकेले संस्थागत विकास गर्दै थुप्रै सृजनशील काम गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘संघको संस्थागत विकास भैरहेको छ । यो खुसीको कुरा हो । संघले आफुले गरेका क्रियाकलापको समिक्षा गर्दै नयाँ परिवेश अनुसार परिष्कृत गर्दै उत्कृष्ट काम कसरी गर्ने भन्ने बारेमा छलफल गर्नु पर्छ । प्रदर्शनीले थुप्रै महिलाई नयाँ उद्यमी बनाएको छ । धेरै भन्दा धेरै महिलालाई उद्यमी बनाउन संघले अझै भुमिका खेल्नु पर्नेछ । प्रदर्शनी लुम्बिनी प्रदेशकै नमुना बनाउनु पर्छ ।’
नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु बिक्रीको लागि राखिने गरिएको छ ।
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनलाई प्रभावकारी बनाउन यस पटक विशेष कार्यक्रमको तयारी गरिरहेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताउनु भयो ।
नव उद्यमी प्रवद्र्धन कार्यक्रम, महिला उद्यमीलाई उत्प्रेरणा प्रदान गर्न संवाद कार्यक्रम, पुरस्कार, प्रोत्साहन कार्यक्रम लगायतका कार्यक्रम प्रदर्शनीका दौरान आयोजना गरिने अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘महिलाहरुलाई आफनो व्यवसायमा सशक्त र सफल बनाउने उद्देश्य सहित यो प्रदर्शनी गरिएको हो । महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने हाम्रो अभियानले यसले सहयोग गर्छ । यस्ता प्रदर्शनीले बजारीकरण गर्नमा सहयोग गर्ने गरेको छ । नव उद्यमीलाई समावेश गर्दै उनीहरुको व्यवसायमा थप उत्प्रेरणा प्रदान गर्नेछौं ।’
युवाहरुलाई स्वदेशमै बसेर उद्यमी बन्न सकिन्छ भनेर सिकाउनको लागि प्रदर्शनले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो । त्यसको लागि संघले विद्यार्थीहरुलाई केन्द्रित गरेर कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष एवम् नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनको संयोजक रेवती सिंहले घरमै बसेर काम गरिरहेका महिलाहरुलाई उद्यम गर्न अभिप्रेरितमा प्रदर्शनी महत्वपुर्ण साबित भैरहेको बताउनु भयो ।
प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई संयोजक सिंहले धन्यवाद दिदैं आगामी दिनमा सहकार्यका लागि आवहन गर्नु भएको छ । सचिवालय उद्घाटन समारोहमा संघको दिृतिय उपाध्यक्ष आभा गौतम, महासचिव सरिता शाक्य,कोषाध्यक्ष बिन्दु चर्तिमगर, नेपालगन्ज उप–महानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य पुष्पा भट्टराई लगायतले प्रदर्शनीलाई प्रभावकारी बनाउने बारेमा सबैको सहकार्यको आवश्यकता रहेको बताउनु भएको थियो ।