शनिबार गगन थापा नेपालगन्ज आउँदैं
Tuesday, February 25th, 2025, 5:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ फागुन
नेपालगन्जमा संविधान संशोधनः आवश्यकता र चुनौती विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया हुने भएको छ । पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेसका महामन्त्री प्रतिनिधि सभा सदस्य गगन कुमार थापा आउने तयारी भैरहेको छ ।
अन्तरक्रियामा आम मानिसका भावना, समस्या, अनुभव र सुझावहरुलाई समेटने प्रयास गरिने आयोजक नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवी विभाग प्रमुख डा. संग्रौला पन्तले बताउनु भयो ।
मंगलबार कार्यक्रमको तयारीका बारेमा नेपाली कांग्रेस बाँकेको कार्यालयमा छलफलमा कांग्रेस निकट सुभेच्छुक संगठन, बुद्धिजीवी,भातृ संगठन, संगठन प्रमुखहरुको सहभागिता रहेको थियो । भेरी प्राविधिक शिक्षालयमा हुने कार्यक्रममा लुम्बिनी प्रदेश स्तरीय रहेको आयोजकले जनाएको छ ।
संविधानका पिता स्व. सुशिल कोइरालाको गृह जिल्लामा महत्वपुर्ण कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहनु भएकी डा. संग्रौलाले बताउनु भयो । उहाँले भन्नु भयो,‘संविधान संशोधनका बारेमा सबैले आ–आफनो सुझाव दिन सक्नुहुनेछ । आम मानिसका भावना हामीले समेटने प्रयास गर्नेछौं । एउटा दाउँरा बोक्ने मासिनले पनि संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार पाउने मौलिक अधिकारको बारेमा सोध्न सक्नेछन् ।’ अन्तरक्रिया कार्यक्रममा संविधानविद्ध काशिराज दाहालले कार्यपत्र प्रस्तुत गर्नु हुने डा.संग्रौलाले बताउनु भयो ।