सडनडेथमा आर्मीलाई हराउँदै पुलिस लुम्बिनी कपको फाइनल प्रवेश
Tuesday, April 22nd, 2025, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ वैशाख
आफनो पहिलो रोजाईको गोलकिपर अन्जना बिना खेलेको त्रिभुवन आर्मी क्लबले हारको सामना गरेको छ । नेपाली राष्ट्रिय टोलीकी गोलकिपर अन्जना यसै साता आर्मीछोडेर एपिएफ क्लबमा अनुबन्धित भएकी छिन् । नेपाल पुलिस क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा आर्मीलाई सडन डेथमा हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बाँकेको नेपालगन्ज रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुलिसले आर्मीलाई सडनडेथमा हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउट पनि ४–४ को बराबरी भएपछि खेल सडनडेथमा पुग्यो । कूल ९–९ पेनाल्टी प्रहार भएको खेलमा पुलिस विजयी भयो ।

………..
तीन पेनाल्टी बचाएकी पुलिसकी उषा नाथ नै खेलको प्लेयर अफ दि म्याच घोषित हुनु भयो । प्लेयर अफ द म्याच उषाले ट्रफीसँगै नगद पाँच हजार गर्नु भयो । उहाँलाई ४ नम्बर बाहिनी पति सहायक रथी विक्रम राणा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई र प्लेयर अफ द म्याचको प्रायोजक केआइइसी नेपालगन्जका प्रमुख सुवास थापाले पुरस्कार प्रदान गर्नु भएको थियो ।

……..
नेपाल पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले विभागीय टोलीबिचको प्रतिस्पर्धामा जित हासिल गर्दा खेलाडीको मनोबल उच्च हुने गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी खुसी छौं । यो जितले फाइनलमा खेलाडीको मनोबल बढेको छ । आज खेल निकै प्रतिस्पर्धात्मक थियो । सबै टिमका सदस्यले राम्रो खेले ।’
नेपाल पुलिस क्लबकी कप्तान निरु थापाले आफनो गृह जिल्ला नेपालगन्जमा भएको प्रतियोगितामा फाइनल प्रवेश गर्न पाउनु निकै सुखद कुरा भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘आज हाम्रो सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु भएको छ । नेपालगन्ज रंगशाला मेरो लागि विशेष छ । किन कि धेरै पछि मैले यो मैदानमा खेल्न पाएको छु । फाइनलमा पुगेको छौं । फाइनल जित्ने लक्ष्य छ ।’
आर्मीका प्रशिक्षक चक्र तामाङले प्राविधिक कमजोरका कारण टिमको प्रदर्शनमा असर गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘हाम्रो खेलाडीले खेलमा कमब्याक गरेको हुन् । तर मैदानले हामीलाई साथ दिएन ।’
मंगलबार पुलिसको लागि रेविका पाण्डे, गोलकिपर उषा नाथ, निरु थापा, सुस्मा तामाङ, अनुस्का शेर्पा र अमृता जैशीले गोल गर्नु भयो । मोनिका पुलामी मगर र मिना देउवाको प्रहार भने २१ वर्षीय गोलकिपर कोपिला खड्काले रोक्न सफल हुनु भएको थियो । समिक्षा घिमिरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

………
यसैगरी आर्मीको लागि तुलसा बोहरा, हिमा चौधरी, सपना लामा र सुखरिया सुख्खुले गोल गर्नु भयो । अञ्चली वाइवा, सुनिता चौधरी र इन्दिरा राईको प्रहार भने पुलिसकी गोलकिपर उषा नाथले रोक्न सफल हुनु भयो । चन्द्रा भण्डारीको प्रहार बाहिरिएको थियो ।
अब वैशाख १२ गते उपाधिका पुलिसले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र रौतहट फुटबल संघबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बुधबार दोस्रो सेमिफाइनलमा एपिएफ र रौतहट जिल्ला फुटबल संघको टिमबिच प्रतिस्पर्धा हुनेछ ।
यसअघि पुलिसले मीना देउवाको गोलबाट खेलमा अग्रता बनाएको थियो । २८औं मिनेटमा मिना देउवाले गोल गर्नु भएको थियो । अमृता जैशीको फ्रिकिक प्रहार गोलकिपर कोपिला खड्काले फुत्काएपछि गोल लाइनबाट हुलमुलमा मिनाले गोल गर्न सफल हुनु भयो ।
अन्तिम १० मिनेट पुलिस खेलमा सम्हालिन नसक्दा बराबरीमा पुगेको थियो । आर्मीको लागि ८०औं मिनेटमा तुलसा बोहराले गोल गर्दै खेल बराबरी गर्नु भयो । वैकल्पिक खेलाडी तुलसाले सिधै फ्रिकिकमा गोल गर्नु भएको हो । सहारा लिम्बूले १८ यार्डअघि हातले बल छोएपछि आर्मीले फ्रिकिक अवसर पाएको थियो ।
यसअघि समूह ‘ए’ मा रहेको पुलिसले भारतको सिलुगरी एफसीलाई ४–० र आर्मीले पनि सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई ६–० ले हराएको थियो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए । यसअघि पहिलो चरणबाटै आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश, कर्णाली र भारतको सिलिगुरी एफसी बाहिरिसकेका छन् ।