मुठी दान गरेर समाजसेवा गर्दै धम्बोझीका महिला
Sunday, May 25th, 2025, 8:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ जेठ
नेपालगन्ज धम्बोझीका महिलाहरुले मुठी दान गरेर निलसागर सेवा आश्रम र मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सृजनशील महिला विकास समितिका आवद्ध महिलाहरुले आफनो टोलमा मुठी दानबाट संकलन गरेको नगद, खाद्यन्न, कपडा लगायतका सामाग्रीहरु आइतबार हस्तान्तरण गरेका हुन् ।
एक महिनासम्म आफनो टोलमा सहयोग संकलन गर्ने कार्य गरिएको थियो । सहयोग संकलन कार्यमा समितिका सबै महिलाहरुको सहभागिता रहेको थियो । सृजनशील महिला विकास समितिमा आवद्ध ३३ जना महिलाहरुले निलसागर सेवा आश्रमलाई ४० हजार रुपैयाँ बराबरको खाद्यन्न, कपडा र नगद ११ हजार १ सय ११ रुपैयाँ सेवा आश्रममै गएर प्रदान गरेका छन् ।
यसैगरी मानव सेवा आश्रममा २२ हजार रुपैयाँ बराबरको खाद्यन्न र कपडा तथा ६ हजार ५ सय रुपैयाँ नगद रकम सहयोग गरेको सृजनशील महिला विकास समितिकी सचिव नानीमाया पुरीले बताउनुभयो । आइतबार नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख उमा थापा, समितिको अध्यक्ष विष्णुमाया सोमाई, उपाध्यक्ष इन्द्रा खनाल, सचिव पुरी, कोषाध्यक्ष बिना कैलालगायतका महिला दिदी बहिनीहरुको समुहले संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख थापाले धम्बोझीको महिला दिदीबहिनीहरुले समाजमा सकारात्मक सन्देश जाने काम गर्नु भएको भन्दै धन्यवाद दिनुभयो । समस्यामा परेका मानिसहरुको लागि उहाँहरुको सहयोग महत्वपुर्ण अर्थ राख्ने भन्दै आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन उहाँहरुलाई थापाले आग्रह गर्नुभयो ।
समितिको सचिव पुरीले आफनो घरको कामलाई व्यवस्थापन गरेर मुठी दान कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण सदस्यलाई धन्यवाद दिनु भएको थियो । मुठी दान संकलनका क्रममा आफुहरुले नेपाली समाजमा अझै मानवता नमरेको महशुस गरेको बताउनु भयो । मुठी दान गरेर सहयोग गर्न पाउँदा आनन्द महसुस भएको भन्दै आगामी दिनमा अझै सक्रिय भएर यस्ता कार्यमा लाग्ने उहाँले बताउनुभयो ।
धम्बोझीको सृजनशील महिला विकास समितिले समुदायमा लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गर्ने कार्य पनि गरिरहेको छ । आगामी दिनमा यसलाई निरन्तरता दिने समितिले बताएको छ । नीलसागर सेवा आश्रमको संस्थापक सरिता खनालले महिला दिदीबहिनीहरुको सहयोग आश्रमको लागि महत्वपुर्ण भएको बताउनु भएको थियो ।