कर्णाली विकास बैंक घोटाला प्रकरण: राय, मिश्र र ठकुरीलाई थुनामा पठाउने आदेश
Wednesday, August 6th, 2025, 10:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ साउन
नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम अपचलन मुद्दामा पक्राउ परेकाहरुमध्ये तीन जनालाई थुनामा राख्ने आदेश जारी गरिएको छ ।
बैंकको करोडोैं रकम घोटाला कार्यमा संलग्नता रहेको आरोपसहित दायर मुद्दामा पक्राउ परेका चार जनामध्ये बुधबार उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले तीन जनालाई थुनामा पठाउने आदेश दिएको हो । एक जनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका सूचना अधिकारी बल बहादुर बिष्टले सो मुद्दामा अदालतले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको र एक जनालाई धरौटीमा राख्ने आदेश भएको जानकारी दिनुभयो । आदेश अनुसार पक्राउ परेकामध्ये राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
‘बस्नेतलाई दुई लाख रुपैया धरौटीमा छाड्न भनिएको छ,’ बिष्टले भन्नुभयो, ‘बाँकी तीन जनालाई कारागार पठाउन आदेश भएको छ ।’ अदालतले जारी गरेको आदेशले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई थुनामा पठाउन भनेको बिष्टले बताउनुभयो ।
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको निष्कर्षसहित १ सय ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित इजलासमा मुद्दा दायर गरेको थियो ।
अदालतले नियन्त्रणमा रहेका चारै जनाको लगातार दुई दिन बयान लिइएको थियो । बिहीबार र शुक्रबार चारै जनाको बयान लिइसकेपछि आइतबारदेखि उक्त मुद्दामा बहस सुरु गरेको थियो । बहसमा प्रतिवादीहरुका तर्फबाट एक दर्जन वकिलले बहस गरेका थिए । सूचना अधिकारी बिष्टका अनुसार सरकार पक्षबाट भने सो मुद्दामा सहन्यायधीवक्ता यदुनाथ शर्मा, जिल्ला न्यायधीवक्ता दशरथ गौतम, उपन्यायधीवक्ता कर्ण बहादुर बुढा, खुम बहादुर कुवँर र शाखा अधिकृत शिव पौडेलले बहस गर्नुभएको थियो ।
बैंक घोटालामा सीआइबीले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ विगो दाबी गरेको छ । घोटालामा चार जना पक्राउ परेका छन् भने बाँकी १०५ जना फरार रहेका छन् । सीआइबीले मुद्दा दर्तासँगै रायको नाममा सबैभन्दा बढी २ अर्ब ६३ करोड ३२ लाख १६ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ भने मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार, र ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ । यस मुद्दामा बैंकका सञ्चालक, कर्मचारीहरू, ऋणीहरू धेरैको नामसमेत समेटिएको छ ।
यस कारण बस्नेतलाई धरौटीमा छाडियो
प्रतिवादी बस्नेत नेपाल राष्ट्र बैंकको का.मु. उपनिर्देशकको हैसियतले कर्णाली डेभलपमेण्ट बैंक लि. को स्थलगत निरीक्षण अन्तर्गतको अनुगमन निरीक्षण मिति २०७५ । १ । २७ देखि मिति २०७५ । २ । २ सम्म गरी निरीक्षण प्रतिवेदन दिएको देखिन्छ ।
निजको माछापुच्छ्रे बैंक लि. मा रहेको खातामा नगद रु. ९ लाख ९९ हजार २५० रुपैयाँ जम्मा भएको र रु.९० हजारको एक थान आईफोन प्रतिवादी राजेन्द्र वीर रायबाट उपहार स्वरुप लिएको भन्ने देखिन्छ । उक्त तथ्यलाई निजले अनुसन्धानको क्रममा र अदालतमा वयान गर्दा स्वीकार गरेको देखिएको र निजको उक्त स्वीकारोक्ती एवं बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १४ मा भएको कानूनी व्यस्था, अभियोग दावीको कसूरमा निजलाई हुन सक्ने सजाय समेतलाई दृष्टिगत गरी प्रतिवादीलाई अभियोग दावीको कसुरदार होईनन भन्न मिल्ने नदेखिदा पछी प्रमाण बुझ्दै जाँदा ठहरे वमोजिम हुने गरी प्रतिवादी बस्नेतलाई धरौटीमा छाड्न आदेश गरिएको छ ।