बाँकेमा सार्वजनिक सम्पत्तिमा क्षति गर्ने पाठक र टमाटा पक्राउ
Wednesday, September 17th, 2025, 5:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ भदौ
जेनजीको आन्दोलनका क्रममा सरकारी सार्वजनिक सम्पत्तिको क्षति गर्नेहरुलाई बाँके प्रहरी पक्राउ गर्न थालेको छ । भदौ २३ र २४ गते देशैभर भएको जेनजीको आन्दोलनका क्रममा सरकारी सार्वजनिक सम्पत्तिमा क्षति गरेका थिए ।
त्यसक्रममा बाँके जिल्लाका दुई दर्जन बढी सरकारी कार्यालयमा पनि तोडफोड तथा सार्वजनिक सम्पत्ति नष्ट गरिएको छ । आन्दोलनको नाममा क्षति पु¥याउनेलाई खोज्न थालेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक दिपक पातलीले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्यमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
जिल्लामा आन्दोलनका क्रममा सम्पत्तिको क्षति गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य पनि सुरु गरिएको उहाँले बताउनुभयो । ‘मंगलबार साँझसम्म दुई जनालाई पक्राउ गरिएको छ,’ प्रवक्ता पातलीले भन्नुभयो, ‘ सम्पत्तिमा क्षति पु¥याउने तथा नष्ट गर्न प्रयास गरेकाहरुको खोजी भइरहेको छ ।’ उहाँका अनुसार सालिकराम पाठक र दिपक टमाटालाई पक्राउ गरिएको छ ।
पाठक र टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएकोसमेत प्रवक्ता पातलीले बताउनुभयो । उहाँका अनुसार आन्दोलनको आडमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न अन्य व्यक्तिहरुलाई पनि पहिचान गरेर पक्राउ गरिनेछ । ‘अहिलेसम्म दुई जना पक्राउ परिसकेका छन्, उहाँले भन्नुभयो, अन्य व्यक्तिको पनि पहिचान गरेर पक्राउ गर्नेछौं ।,’
किन पक्राउ परे पाठक र टमाटा
जेनजी आन्दोलनका क्रममा पाठक दुई ठाँउमा देखिएका छन् । पाठक देखिएको भिडियो सामाजिक संजालमा अहिले धेरैले शेयर गरेका छन् । पहिलो भिडियोमा पाठक आन्तरिक राजश्व कार्यालय परिसरमा मुखमा मास्क, टाउँकोमा गम्छा बाधेको र चस्मा लगाएको अवस्थामा सुर्तिजन्य पदार्थ (सिस्टम मसाला) घाँटीमा भिरेर निस्कँदै गरेको र अन्य आन्दोलनकर्मीले तानातान गर्न लागेको देखिएको छ ।
दोस्रो भिडियोमा भने पाठक नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा देखिएका छन् । त्यहाँ नगर प्रमुख प्रशान्त बिष्ट चढ्ने सेतो रंङ्गको गाडी नजिकै नेपालको राष्ट्रिय झण्डा ओढेको, चस्मा लगाएको र टाउँकोमा गम्छा बाँधेको उक्त भिडियोमा जलाइएको सो गाडीमा थप केही सामान फालेको देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का पाठक जैसपुर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हुन् । सीमा क्षेत्र भएकाले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि निर्माण भएको सेवा केन्द्रको अध्यक्षका रुपमा पाठक लामोसमयदेखि अध्यक्ष छन् । यस्तै टमाटालाई नेपालगन्ज यातायात कार्यालयमा क्षति पु¥याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फिर्ता गर्दैै लगिएका सामान
जनेजी आन्दोलनका क्रममा सरकारी कार्यालयबाट लगिएका समानहरु फिर्ता गरिन थालिएको छ । बाँकेका विभिन्न सरकारी सार्वजनिक कार्यालयमा आगजनी तथा तोडफोड गर्ने क्रममा कतिपय समानहरु आन्दोलनकारीले लुटेका छन् ।
कार्यालयलाई जलाउनुअघि आन्दोनकारीले भएका सामानहरु लुटिएको थियो । जेनजीको आन्दोलन साम्य भएपछि कार्यालयहरुले लु्टिएका सामानहरु फिर्ता गर्न सार्वजनिक अपिलसँगै फिर्ता नगरिए नियमसंगत कारवाही प्रक्रिया अघि बढाउने सूचना जारी गरेको थियो ।
सामाजिक संजालमा रहेका भिडियोहरुको आधारमा सामान लगेकाहरुलाई कारवाही गर्ने भनिएपछि अहिले लगिएका ती सामानहरु फिर्ता हुन थालेका हुन् । भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, नेपालगन्ज उपमहानगरपालिका कार्यालयलगायतबाट लगिएका सामानहरु फिर्ता हुन थालेको कार्यालयहरुले जनाए ।
मालपोत कार्यालयले सामाजिक संजालमा रहेको भिडियोमार्फत पहिचान गर्दै सामान लगिएको घरघरमै पुगेर सामानहरु ल्याउने कार्य गरिरहेको छ । यस क्रममा धेरै सामानहरु कार्यालयले फिर्ता ल्याएको छ भने कतिपय कारवाही हुने डरले आफै फिर्ता गरिरहेका छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिकाबाट लुटिएका सामानहरुसमेत फिर्ता आउन थालेका छन् ।
कार्यालयका कर्मचारीले लुटपाट तथा आगजनीका क्रममा खिचिएका भिडियोसहित सामान फिर्ता गर्न अनुरोध गरेसँगै त्यहाँबाट लगिएको सामानहरु फिर्ता आउन थालेको छ । यसैक्रममा मंगलबार कार्यालयबाट लगिएका कम्प्यूटर मनिटर र प्रिन्टर लगेका युवाले आफै फिर्ता गरेका छन् ।