लुम्बिनी स्पोर्टस अवार्ड प्रचार–प्रसार संयोजकमा थापा मनोनित
Saturday, October 25th, 2025, 8:42 am
Kalpristha
नेपालगन्ज, कात्तिक ८ गते

………..
लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा(जी.थापा)मनोनित हुनु भएको छ । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उहाँहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मंसिर १८ गते हुँदैछ । लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसारलाई तिव्रता दिनको लागि थापालाई संयोजकमा मनोनित गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले बताउनु भयो ।
संयोजकमा मनोनित थापा खेल पत्रकारितामा एक दशक देखि सक्रिय हुनुहुन्छ । नागरिक दैनिकबाट पत्रकारिता सुरु गर्नु भएका थापा हाल कालपृष्ठ दैनिकको खेल विधा संयोजक हुनुहुन्छ भने रंगशालान्युजडटकमको सम्पादक रुपमा खेलपत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारितामा सक्रिय रहनु भएका थापा नेपाली फुटबलको चर्चित टिम मनाङ मस्र्याङदी क्लब(एमएमसी) को फ्यान क्लबको पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको महत्वपुर्ण खेलकुद कार्यक्रमको संयोजकको जिम्मेवारी पाउनु गर्वको विषय भएको थापाले बताउनु भयो । उहाँले भन्नु भयो,‘खेलाडी र खेलकर्मीलाई यस्ता सम्मानको निकै आवश्यकता पर्छ । खेलाडीले मैदानमा सफलता हासिल गर्न कति मिहिनेत, तपस्या गरेका हुन्छन । त्यो सफलताको महत्व कति हुन्छ भन्ने कुरा समाजका आम मानिसले थाहा पाउनु पर्छ । यस्तो अवार्डले खेलाडीको हौसला बढाउन महत्वपुर्ण सहयोग गर्छ ।’ कार्यक्रमलाई सफल बनाउने आफनो जिम्मेवारी निष्ठापुर्वक निर्वाह गर्ने थापाले बताउनु भयो ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ । एक साता अघि लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गर्नु भएको थियो ।