बर्दियामा बाबुछोरीद्वारा आत्महत्या छानबीन समिति घट्नास्थल पुगेर सुरु गर्यो अनुसन्धान
Friday, December 12th, 2025, 1:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २६ मंसिर
बर्दियामाको बढैयातालमा नागरिकता धेरै प्रयासका बाबजुद पनि बाबुछोरीले नागरिकता नपाएपछि आत्महत्या गरेको घट्ना सम्बन्धमा सरकारले गठन गरेको छानबीन समिति घट्नास्थल पुगेको छ ।
नागरिकता नपाउँदा बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलमै पुगेर अनुसन्धानसमेत सुरु गरेको छ ।
छानबीन समितिको पहलमा स्थानीय वडा कार्यालयमा मृतक अञ्जु थारूकी ७ वर्षिया छोरी अनिता थारूको जन्मदर्ता र आमाको मृत्यु दर्ता पनि गराइएको छ । समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालले घटनास्थलमा पुगेर बुझ्दा मुख्य समस्या अञ्जुको छोरीको जन्मदर्ता र उहाँको आमाको मृत्यु दर्ता नभएको भन्ने थाहा पाएपछि त्यसलाई समाधान गरिएको बताउनुभयो ।
‘हामी वडा कार्यालयमै पुगेर अञ्जुको बुवाको मृत्युदर्ता र उनको छोरीको जन्म दर्ता (अञ्जुको श्रीमान अनिलको नामबाट) जन्म दर्ता गराएका छौं,’ समिति सदस्य अर्यालले भन्नुभयो, ‘आज हामी समिति संयोजक सुरेश पन्थीज्यूको नेतृत्वमा सबै सदस्यहरू बढैयाताल वडा नम्बर ४ मा पुगेर समग्र बस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरी बालिकाको जन्म दर्ता र अञ्जुकी आमाको मृत्यु दर्ता गर्ने प्रक्रिया सम्पन्न गर्यौं, बाँकी समस्या हामी बुझेर प्रतिवेदनमा खुलाउने छौं ।’
अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पुर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ । बर्दियाको बढैयाताल वडा नम्बर ४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उहाँले अंश पाउन सक्नुभएको थिएन ।
गृह मन्त्रालयको २१ मंसिरमा सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ । यस्तै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशिला कार्की पनि गृहमन्त्री अर्याललाई निर्देशन दिनुभएको थियो ।