‘नेपालगन्ज पर्यटनको सुरुआती केन्द्रविन्दु बन्न सक्छ’
Saturday, December 20th, 2025, 7:53 pm
Kalpristha
क्रस–बोर्डर टुरिज्म कन्क्लेभ
नेपालगन्ज, पुस ५ गते
नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीनदिने कन्क्लेभमा दुवै देशका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षा निकाय र सरोकारवालाको सहभागिता रहेको छ ।
कन्क्लेभको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गर्नु भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख विष्टले नेपालगञ्ज धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको बताउनु भयो । नेपालगन्जलाई पर्यटनको सुरुआती केन्द्रविन्दु बनाउने प्रयासमा आफुहरु लागि परेको बताउँदैं प्रमुख विष्टले भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका निर्वतमान प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागि हुनु भएको थियो ।
छलफलमा सहभागीहरूले सीमा क्षेत्रमा देखिने अनावश्यक कडाइ, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानको उपायबारे बहस भएको हो ।

…………
वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न रायसुझाव दिनु भएको थियो ।
बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यी विषयहरू दशकौँदेखि उठिरहेका छन, अब ढिलाइ गर्नु हुँदैन । सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौं ।’
नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
उहाँले नेपाल वेडिङ डेस्टिनेसन र वेलनेस र वाइल्ड–लाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्नु भयो । केही समयअघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झन्झट पनि हाल सहज भइसकेको उहाँले जानकारी गराउनु भयो ।
नाट्टाका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम सिग्देलले नेपालगञ्जलाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने बताउँदै दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडानको प्रस्ताव अघि सार्नु भयो । सीमापार सहकार्य र निरन्तर संवादमार्फत पर्यटनमा देखिएका अवरोध समाधान गर्न सकिने उहाँको भनाइ थियो ।
नेपालगन्जका डा. धवल शम्शेर राणाले सीमाका समस्या सहज बनाउने र नेपालगञ्जको वास्तविक पर्यटन सम्भावना उजागर गर्ने दुई मुख्य कार्य अहिलेको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रममा भारतीय टुर अपरेटर शैलेश अग्रवालले हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिने गरिएको गुनासो गर्नु भयो । यसैगरी अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा शंकास्पद दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्नु भयो ।
हान नेपालका केन्द्रीय सदस्य दीवाकर खनालले पशुपतिनाथ–केदारनाथ, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगया जस्ता सर्किट विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताउनु भयो । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः विस्तार हुने धारणा व्यक्त गर्नु भएको थियो ।
करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा ‘बी–टु–बी’ सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताउनु भयो ।
क्याप्सनः प्यानल सत्रमा छलफल गर्दै अतिथीहरु ।