अंकल र सन्तोष दोस्रो नेपालगन्ज १०–के नाइट रन च्याम्पियन
Saturday, May 9th, 2026, 1:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, वैशाख २६ गते
त्रिभुवन आर्मी क्लबका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको ट्रफी जित्नु भएको छ । नेपालगन्जमा शुक्रबार राती भएको नेपालगन्ज १०–के म्युजिक नाइट रन ३२.१८ मिनेटमा पुरा गर्दै अंकल बहादुर पाल पुरुष तर्फ र ३९.९ मिनेटमा दौड पुरा गर्दै सन्तोषीले महिला तर्फको ट्रफी जित्नु भएको हो । नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चोक पुगेर पुनस सोही रुट हुँदै बीपी चोकमा पुगेर दौड सम्पन्न भएको थियो ।
पुरुष तर्फ दोस्रो स्थान हासिल गर्ने बाँकेका भुपेन्द्र सुनारले ३३.०४ मिनेट र तेस्रो अरविन्द्र यादवले ३३.०८ मिनेटमा दौड पुरा गर्नु भयो । १० किलोमिटर पुरुष तर्फ झरमान पुन चौथो र दिप परियारले पाँचौ स्थान हासिल गर्नु भएको थियो ।

……….
यसैगरी महिला तर्फ १० किलोमिटर दौड ४४.५८ मिनेटमा पार गर्दै दिपशिखा शाही दोस्रो र ५२.२७ मिनेट समय खर्चेकी गिता साहु तेस्रो हुनु भयो । विद्यालय स्तरको ५ किलोमिटर दौडमा समीर श्रेष्ठ प्रथम, बसन्त माझी दोस्रो र नरेश कवर तेस्रो हुनु भयो । धर्विन्द्र बम ठकुरी चौथो र सन्देश बुढाथोकी पाँचौ स्थानमा रहनु भयो । समीरले ५ किलोमिटर १७.११ मिनेट, बसन्तले १७.१३ मिनेट र नरेशले १५.५० मिनेटमा दौड पुरा गर्नु भएको थियो ।
विद्यालय स्तरको महिला तर्फ स्वतिका शाही प्रथम, अप्सरा बम ठकुरी दोस्रो, जनदेवी महतारा तेस्रो र चाहना शाह शाह चौथो हुनु भयो । स्वतिकाले २०.०३ मिनेट, अप्सराले २१.२३ मिनेट, जनदेवीले २५.०६ मिनेट, चाहनाले ३७.३२ मिनेटमा दौड पुरा गर्नु भएको थियो ।

……
विजयी खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतम, सदस्य डिबी तामाङ्ग, पुर्व सदस्य सचिव भीम ओली, खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओली र आयोजक रेस नेपालका प्रमुख टिएस ठकुरी लगायतले पुरस्कृत गर्नु भएको थियो ।

……

…..
म्युजिक नाइट रन संगीत र दौड मार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियानको रुपमा स्थापित भएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनु भयो ।
नेपालगन्ज १०–के नाइट रन विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य हो । नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने रेस डाइरेक्टर गुरुङले बताउनु भयो । दौड अवधिभर भएको सांगीतिक कार्यक्रममा गायक सुनिल सिंह ठकुरी र स्थानीय विद्यालयका विद्यार्थीले नृत्य गर्नु भएको थियो । एम्समा आवद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एकमात्र सहर हो ।
यसपटक नाइट रनमा १० किमि खुला पुरुष र महिला तथा ५ किमि स्कुल स्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ । गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर(बाँके)कि गीताकुमारी साहु विजेता बन्नु भएको थियो । नेपालगन्ज १०–के म्युजिक नाइट रन नेपालको पहिलो रात्री दौड हो । स्वस्थ , सभ्य र सुरक्षित सहरको परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयोजकले जनाएको छ । यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वल्र्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एशियाली र एशियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयोजक रेस नेपालका कोषाध्यक्ष सुमन बस्नेतले जानकारी दिनु भयो । धारा नेपालगन्ज म्याराथनले थाइल्यान्ड मलेसिया सिंगापुर भुटान बंगलादेश लगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेको छ ।