भेरी सहकारीको निर्णय एकीकरण एवम् ३०औं साधारण सभा सम्पन्न
Thursday, January 8th, 2026, 11:47 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ पुस
भेरी सहकारी वित्तीय संस्था लिमिटेडको निर्णय एकीकरण एवम् ३०औं साधारण सभा सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा ३०औं वार्षिक साधारण सभाका प्रस्तावहरु एकीकरण गरेर सर्वसम्मत रुपमा निर्णय पारित गरेर कार्यक्रमको समापन गरिएको थियो ।
भेरी सहकारी वित्तीय संस्था लिमिटेडको उपाध्यक्ष रुक्मिणी भारतीको अध्यक्षतामा भएको कार्यक्रममा भेरी सहकारी वित्तीय संस्था लिमिटेडका संस्थापक सदस्य मधुसुदन रिजाल प्रमुख अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । व्यवस्थापक शोभा गुरुङले संचालन गरेको निर्णय एकीकरण एवम् ३०औं साधारण सभा समापन कार्यक्रममा संचालक समिति सदस्य विमला गुरुङले स्वागत मन्त्व्य राख्नु भएको थियो ।
कार्यक्रममा पूर्व कार्यकारी निर्देशक सुशिला शर्मा, पुर्व लेखा समिति सदस्य एवम् वरिष्ठ समाजसेवी जे.के. सिंह, आन्तरिक लेखा समिति संयोजक मीन बहादुर सिंह, सचिव अन्जु शर्मा, कोषाध्यक्ष भीम मल्ल लगायतको सहभागिता रहेको थियो ।
यसअघि भेरी सहकारी वित्तीय संस्था लिमिटेडले खजुरा, बैजनाथ, कोहलपुर, नेपालगन्ज एकाई भेला सम्पन्न गरेको थियो । उक्त भेलाबाट छानिएका प्रतिनिधिहरुको उपस्थितीमा निर्णय एकीकरण गर्दै वार्षिक साधारण सभाको समापन गरिएको व्यवस्थापक शोभा गुरुङले कालपृष्ठ दैनिकलाई बताउनु भयो ।
यसैगरी कार्यक्रमको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । जेष्ठ नागरिक जोडी सम्मानबाट लीलानाथ अधिकारी र देवकी अधिकारीलाई, उत्कृष्ट निक्षेपकर्ताको रुपमा निर्मला वाल्मिकी र बिजेश्वर डंगोल र कर्जा तर्फ कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । उहाँहरुलाई जनही ३ हजार ५ सय रुपैयाँ, दोसल्ला, खादा, प्रमाणपत्रले सम्मान गरिएको हो ।
यसअघि गत शनिबार बाँकेको पुरानो सहकारी मध्येको एक भेरी सहकारी वित्तीय संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
समाज छरिएर रहेका स–साना पुँजी एकत्रित गरि विपन्न वर्गमा लगानी गरी उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले २०५२ साल चैत १ गते संचालनमा आएको सहकारी हो भेरी । तत्कालिन जिल्ला सहकारी कार्यालयमा विविधत रुपमा दर्ता भएर भेरीले आफनो सेवा सुरुआत गरेको थियो ।
४ हजार ५८ शेयर सदस्य रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा संचालक समिति उपाध्यक्ष रुक्मिणी भारतीको अध्यक्षतामा भएको थियो । बाँके जिल्लाभर कार्यक्षेत्र रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको बचत तर्फ १९ करोड ४७ लाख ३ हजार ५ सय ३५ रुपैयाँ ७५ पैसा रहेको छ भने संस्थाले ३० करोड १ लाख ८ हजार ४ सय ४३ रुपैयाँ ऋण लगानी गरेको छ ।
भेरी प्राविधिक शिक्षालयको सभाहलमा भएको साधारण सभामा संचालक समिति अध्यक्षको तर्फबाट प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१–०८२ को लेखा परिक्षण प्रतिवेदन, संस्थाको सचिवबाट आर्थिक वर्ष २०८२–०८३ को प्रस्तावित बजेट एवम् भावि कार्य योजना स्वीकृती, आर्थिक वर्ष २०८२–०८३ को बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समिति र उपसमितिले गरेका निर्णयहरुको अनुमोदन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरु मध्येबाट प्रतिनिधि चयन लगायतको विषयमा प्रस्तावहरु प्रस्तुत गरिएको थियो ।

………
व्यवस्थापक शोभा गुरुङले संचालन गरेको कार्यक्रममा लेखा समिति संयोजक मिन बहादुर सिंहले आर्थिक वर्ष २०८१–०८२ को लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष भिम बहादुर मल्लले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी सचिव अन्ज शर्माले आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन र आर्थिक वर्ष २०८२–०८३ को प्रस्तावित बजेट तथा भावि कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।