दोस्रो योगिनी गोल्ड कप चैत २२ देखि हुदैं, तयारी तिव्र
Saturday, March 28th, 2026, 9:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, चैत १४ गते
दोस्रो योगिनी गोल्प कप फुटबल प्रतियोगिता आगामी चैत २२ गते देखि हुने भएको छ । योगिनी युवा क्लबको आयोजनमा हुने प्रतियोगिता चैत २२ देखि २९ गते सम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो । स्थानीय फुटबल खेलाडीलाई लक्षित गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा बाँके र बर्दियाका क्लबलाई मुख्य प्राथमिकतमा राखेर आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘क्लबले स्थापना कालदेखि नै खजुरामा खेलकुदको माध्यमबाट युवाहरुलाई सकारात्मक कार्यमा सक्रिय बनाउँदै आएको छ । पहिलो संस्करणको अनुभवलाई आत्मसाथ गर्दै प्रतियोगितालाई स्तरीय बनाउने हामीले प्रयास गरेका छौं । प्रतियोगितामा सहभागिताका लागि म स्थानीय क्लबहरुलाई हार्दिक अनुरोध गर्दछ ।’ प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउनेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक गणेश बहादुर राईले बताउनु भयो ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७६ असोज ११ देखि १७ गते सम्म संचालन भएको थियो ।
खजुरा गाउँपालिकाको आर्थिक सहयोग, खजुरा गाउँपालिका वडा नम्बर २ को समन्वयमा हुन लागेको प्रतियोगिताको पहिलो संस्करणलाई सिजी बु्रअरी -नेपाल)ले मुख्य प्रायोजन गरेको थियो ।
प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ ।
बाँकेमा स्तरीय प्रतियोगिताको रुपमा परिचित योगिनी कप फुटबल प्रतियोगिता लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने संयोजक राईले बताउनु भयो ।
प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा चन्द्रज्योती युवा क्लबले आयोजक योगिनी–११ बी टिमलाई हराउँदै नगद ५१ हजार सहित उपाधि जितेको थियो ।
पहिलो संस्करणको सर्वोत्कृष्ट खेलाडी योगिनी युवा क्लबका याम बहादुर थापा,उदयीमान खेलाडी सुरज थापा क्षेत्री, उत्कृष्ट फरवार्ड याम बहादुर थापा, उत्कृष्ट मिड फिल्डर गोपाल थापा, उत्कृष्ट रक्षक राम ओली र उत्कृष्ट प्रशिक्षकको रुपमा विकास सिंह विक पुरस्कृत हुनु भएको थियो ।