चौँथो कोहलपुर गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजको विजयी सुरुआत
Saturday, May 2nd, 2026, 9:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १९ वैशाख
चौँथो कोहलपुर गोल्डकप सुरु भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा चौँथो कोहलपुर गोल्डकप सुरु भएको हो । कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन हुने प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले शान्तिका प्रतीक एकजोडी परेवा उडाएर उद्घाटन गर्नु भयो ।
प्रमुख अतिथि नगरप्रमुख आचार्यले चारवर्षदेखि सञ्चालन हुँदै आएको कोहलपुर गोल्डकप कोहलपुरको पहिचान बनेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोहलपुर गोल्डकपले खेलकुदका माध्यमबाट कोहलपुरलाई विश्वभर चिनाउन भूमिका खेलेको छ । स्थानीय सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको छ । खेलकुदका हरेक विधामा लगानी गरेको छ । नीति तथा कार्यक्रममै खेलकद विकासको लागि व्यवस्था गरिएको छ ।’
कोहलपुर नगरपालिकाका उप–प्रमुख संगीता सुवेदीले कोहलपुरमा ग्रासरुट फुटबल,वडा गोल्डकपदेखि नगरस्तरीय हुँदै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी निर्वाचित भएर आएदेखि खेलकुदमा ठूलो लगानी गर्दै आएका छौ । जिल्ला स्तरीय मेयर तथा राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर उत्कृष्ट हुँदै आएको छ । स्थानीय सरकारको लागि यो गौरवको विषय हो ।’
प्रतियोगिता संयोजक कर्ण बस्नेतले कोहलपुर गोल्डकपलाई सफल बनाउन स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘चौँथो संस्करणसम्म आइपुग्दा नगर तथा जिल्लास्थित सरोकारवाला, निजी क्षेत्र, व्यवसायी तथा अन्य पक्षको समेत विशेष भुमिका छ । गोल्डकपमार्फत स्थानीय खेलाडीले प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले खेल्ने थलो बनेको छ । प्रतियोगितालाई अझै परिस्कृत रूपमा सञ्चालन गर्ने योजना छ ।’
उद्घाटन खेलमा आयोजको विजयी सुरुआत
चौँथो कोहलपुर गोल्डकपको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ । शनिबार आयोजक रेसिङ साहारा क्लबले २–१ ले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो ।
प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो । क्लबका लागि पहिलो गोल विदेशी खेलाडी पेपेले पहिलो गोल गर्नु भयो । पेपेले पहिलो हाफको २४ मिनेटमा अद्धुल टि रुरोकीको कर्नर किकको सहायताबाट उत्कृष्ट हेड गोल गर्नु भएको थियो । ४४औं मिनेटमा फागुराम चौधरीले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर गर्नु भयो ।
दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । फलस्वरुप पञ्चकोशीले खेलको ८८ मिनेटमा नुसाहारा उप्रेतीले जवाफी एक गोल गर्नु भएको थियो । खेलमा आयोजकका पेपे म्यान अफ द म्याच घोषित हुनु भयो ।
प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी रहेको छ ।