धम्बोझी र नेपालगन्ज मोडेल एकेडेमी सेमिफाइनलमा प्रवेश
Saturday, June 20th, 2026, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असार
धम्बोझी मावि र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा शनिबार भएको पहिलो खेलमा धम्बोझीले सनविभ स्कुल नेपालगन्जलाई १–० ले पराजित गरेको छ । धम्बोझीको जितमा प्लेयर अफ द म्याच संगिता चौधरीले ३५औं मिनेटमा गोल गर्नु भयो । संगितालाई प्याब्सन नेपालगन्जका सचिव विज्ञान शाहले पुरस्कृत गर्नु भयो ।
अर्को खेलमा नेपालगन्ज मोडेल एकेडेमीले आदर्श माविन नेपालगन्जलाई १–० ले हरायो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा सितल रोकायले ३४औं मिनेटमा गोल गर्नु भयो । खेलमा प्लेयर अफ द म्याच घोषित सितलले मैदानको मध्यभागबाट गरेको लामो दुरीको प्रहार गोल हुन पुगेको थियो । सितललाई पुर्व राष्ट्रिय फुटबल खेलाडी सिद्धान्त जंग राणा र प्याब्सन बाँकेका सदस्य कमलेश शाहले पुरस्कृत गर्नु भयो ।
प्रतियोगिता अन्तर्गत आइतबार बेलुका पहिलो सेमिफाइनलमा खेलमा मनकामना मावि नेपालगन्ज र युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा नेपालगन्ज मोडेल एकेडेमीले धम्बोझी मावि नेपालगन्जसँग प्रतिस्पर्धा गर्नेछ । छात्र तर्फको फाइनल नेपालगन्ज मोडेल एकेडेमी र होलिल्याण्डले खेल्ने भएका छन् ।
शुक्रबार छात्र तर्फको सेमिफाइनलमा जय बागेश्वरीले पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीलाई ३–० ले पराजित गरेको थियो । तर जय बागेश्वरीले नियम विपरित खेलाडी खेलाएको भन्दैं नेपालगन्ज मोडेल एकेडेमीले प्रोटेस्ट दर्ता गरेको थियो । प्रोटेस्टका बारेमा आयोजकले कमिटीको प्राविधिक टिमले आवश्यक छानविन गरेपछि जय बागेश्वरीले प्रतियोगिताको नियम विपरित खेलाडी खेलाएको प्रमाणित भएपछि कारबाही गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताउनु भयो । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा भैरहेको प्रतियोगिताको फाइनल खेल असार ८ गते हुनेछ ।

……….
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए भने प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वाेत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।