गरिमाका दोषी कुनै हालतमा उम्कनु हुँदैन
Tuesday, August 25th, 2026, 12:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, ९ भदौ
बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको सम्झनामा तथा उहाँको न्यायका लागि ऐक्यबद्धता जनाउँदै कोहलपुर नगरपालिकाले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले गरिमाको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताउँदै घटनामा संलग्न दोषीलाई कुनैपनि बहानामा उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले पीडित परिवारलाई न्याय दिलाउन राज्यका सबै निकाय गम्भीर र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख सुवेदीले बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता जघन्य घटना दोहोरिन नदिन कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन् । पछिल्लो समय देशमा साना बालिकामाथिको अत्याचार बढेकोप्रति सर्वसाधारणको मनमा त्यस्ता दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्न थालेका छन् ।