छात्रा उपाधिको लागि नेपालगन्ज मोडेल र मनकामनाले प्रतिस्पर्धा गर्ने
Sunday, June 21st, 2026, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ असार
मनकामना मावि नेपालगन्ज र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मनकामनाले युनाइटेड एजुकेशनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो । पेनाल्टी सुटआउटमा मनकामनाकी प्रतिज्ञा शाही, समृद्धि सिंह र दिपशिखा खड्काले गोल गर्नु भयो । युनाइटेडको तर्फबाट पुष्पा आलेमगर र सोनम भुजेलले गोल गर्नु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रमम पेनाल्टीमा विपक्षीको दुई प्रहारलाई रोक्न सफल मनकामनाको गोलकिपर प्रियंका विकले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नु भयो ।
उहाँलाई केल्मी सोरुम नेपालगन्जका सिईओ रविन्द्र शाही र खजुरा खेलकुद परिषदका सदस्य सचिव छवि विष्टले पुरस्कृत गर्नु भयो । दोस्रो सेमिफाइनल खेलमा नेपालगन्ज मोडेल एकेडेमीले धम्बोझी माविलाई २–० ले पराजित गरेको थियो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा ज्योती कंडेलले सातौं मिनेट र आकृति विष्टले १८औं मिनेटमा गोल गर्नु भयो । खेलमा नेपालगन्ज मोडेल एकेडेमी खेलाडी भावना खड्काले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नु भयो ।

……….

……..
भावनालाई महिला उद्यमी संघ नेपाल बाँकेको महासचिव विन्दु चर्तिमगरले पुरस्कृत गर्नु भयो । असार ८ गते सोमबार फाइनल खेल हुनेछ । फाइनलमा छात्र तर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्याण्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन् भने छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमी र मनकामनाले खेल्नेछन् । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा भैरहेको प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

…………