भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
Thursday, August 27th, 2026, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौं
नुवाकोट र धादिङमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभात मेमोरियल हाइस्कुल नेपालगन्जले सहयोग गर्ने भएको छ । विद्यालयले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिक रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुगेको घटनाप्रति विद्यालयले दुःख व्यक्त गरेको छ । विद्यालयले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
त्यसैगरी, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयले प्रभावित परिवारको साथमा रहन तथा उद्धार र राहत कार्यमा सहयोग गर्न सबै सरोकारवाला निकाय, संघ–संस्था तथा नागरिकलाई आग्रह गरेको छ ।
विद्यालयका प्रधानाध्यापक गौरव गिरीले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ र उद्धार तथा खोजी कार्य जारी रहेको छ ।