निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन
Friday, September 18th, 2026, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असोज
प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा गृह विमोचन गरिएको छ । थापाको कविता संग्रह ‘जेन्जी काल’ तीन महिना अघि विमोचन भएको थियो । नेपालगन्जमा शुक्रबार कालपृष्ठ दैनिकको आयोजनामा कृतिको विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, आयोजक कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, साहित्यकार खगेन्द्र गिरी कोपिला र लेखक थापाले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भयो ।
‘जेन्जी काल’ कविता संग्रह २०८२ साल भाद्र २३ र २४ को जेन्ज आन्दोलन र त्यसपछिको मनोविज्ञानलाई कृतिमा समावेश गरिएको छ ।
लेखक निर्मल कुमार थापा नेपाली साहित्यमा लेखक, कवि तथा साँस्कृतिक अभियन्ताको भुमिका निर्वाह गरिरहनु भएको छ । अध्ययनको हिसाबले विद्यावारिधी गरेका थापाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समाज अध्ययनको अनुभव बटुल्नु भएको छ । उहाँका लेखनमा विशेषगरी कविता, कथा, निबन्ध, दर्शन तथा गैर आख्यान समावेश हुने गर्दछन् । लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक हुनुहुन्छ । उहाँले नेपाली कला साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आउनु भएको छ ।
शुक्रबार नेपालन्जमा कविता संग्रह ‘जेन्जी काल’ को विमोचन गर्दै प्रमुख अतिथी चौलागाईले पत्रकारिता क्षेत्र हुँदै साहित्य विधामा प्रवेश गर्नु भएका लेखक थापाले पश्चिम नेपाललाई अन्तराष्ट्रिय समुदाय सम्म पु¥याउने काम गर्नु भएको बताउनुभयो । उहाँले भन्नु भयो,‘ कविता संग्रह ‘जेन्जी काल’ नेपाली इतिहासमा एउटा दस्तावेजको रुपमा रहन सक्छ । यसले तत्कालिन अवस्थाको चित्रण गरेको छ । जेन्जी आन्दोलनमा देखिएका विविध पक्षलाई कविता संग्रह ‘जेन्जी काल’ले समेटने प्रयास गर्नु नेपाली इतिहास र साहित्यको लागि महत्वपुर्ण कुरा हो ।’
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले साहित्य र पत्रकारिता समाजको विकासमा लागि महत्वपुर्ण क्षेत्र भएको बताउनु भयो । साहित्य सृजना मार्फत थापाले गरेको योगदान पत्रकारिता क्षेत्रको लागि पनि गर्व गर्ने विषय भएको बताउनु भयो ।
कालपृष्ठ दैनिकका सम्पादक एवम् प्रकाशक कमल खत्री, साहित्यकार खगेन्द्र गिरी कोपिलाले कविता संग्रह ‘जेन्जी काल’ ले नेपाली समाजलाई सकारात्मक बाटोमा लग्न अभिप्रेरित गर्ने बताए ।
लेखक थापाले कविता संग्रह ‘जेन्जी काल’ कृति मार्फत जेन्जी आन्दोलन पछि देशको राजनीतिक, साँस्कृतिक र आर्थिक व्यवस्थालाई बुझाउने प्रयास गरेको बताउनु भयो ।
विगतका जनआन्दोलन, शसस्त्र आन्दोलनले ल्याएको लोकतन्त्रमा चुनिएका नेतृत्वले सहि व्यवस्था स्थापित गर्न नसकेको कारणले जेन्जी बिद्रोहको रुप लिएको बताउँदै सुन्दर नेपाल निर्माणमा सचेत नेपालीले योगदान गर्नु पर्ने बताउनु भयो । कविता संग्रह ‘जेन्जी काल’ कृति पढेर अबको पुस्ताले भ्रष्टतन्त्रको जालो च्यातेर सुसासन कायम गर्नको लागि आफूलाई तयार बनाउनुपर्ने उहाँले बताउनु भयो ।
थापाको साहित्यिक यात्रा कविता संग्रह ‘प्रभात फेरी सन्ध्या’बाट सुरु भएको हो जुन सन् २००५ मा प्रकाशित भएको थियो । विशेषगरी उहाँको लेखनमा दर्शन, अध्यात्म, समकालिन समाज र मानव जीवनका प्रश्नहरुको महत्वपुर्ण विषयमा केन्द्रित भएको देखिन्छ । हालसम्म २२ वटा कृति प्रकाशित गरिसकेका लेखक थापाको ‘प्रभात फेरी सन्ध्या’ कविता संग्रह, ‘एकादेश’ निवबन्ध साहित्यिक कृति, ‘एकालाप’ कथा निबन्ध र कविताको संयोजन, ‘एकान्त’ कथा र दर्शनको मिश्रण, ‘जय श्रीकुबेरनाथ’ कविता संग्रह लगायतका रहेका छन् ।