आजदेशभर वडा स्तरबाट सुरु हुँदैछ कांग्रेसको १५औ महाधिवेशन
Saturday, September 19th, 2026, 7:55 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
आजदेखि देशभर नेपाली कांग्रेसको १५औ महाधिवेशनको सुरुआत वडा स्तरबाट हुँदैछ । बाँकेमा पनि असोज ३ गते संविधान दिवसको अवसर पारेर अधिंकाश वडामा अधिवेशनको तयारी भैरहेको नेपाली कांग्रेस बाँकेले जनाएको छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताउनु भएको छ । देशभरमा निर्वाचन उत्साहका साथ सुरु हुन लागेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताउनु भयो ।
तर क्रियाशिल सदस्यता शुल्क बुझाएकाहरुको नाम छुटेको भन्दैं बाँके क्षेत्र नम्बर १ का केहि वडाको अधिवेशन प्रभावित हुने देखिएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ सभापति पोषण केसीले धेरै क्रियाशिल सदस्यहरुको नाम छुटेकोले वडा अधिवेशन गर्न कठिन भएको बताउनु भएको छ ।
बाँकेको ८ वटा स्थानीय तहका ८१ वडामा अधिवेशन गर्ने तयारी गरिएपनि पहिलो दिन शनिबार सबै वडामा अधिवेशन हुने सम्भावना कम देखिएको छ ।
बाँके क्षेत्र नम्बर ३ मा क्रियाशिल सदस्यता नामावाली नपुगेको भन्दैं वडा अधिवेशनमा समस्या देखिएको बताइएको छ ।
नेपाली कांग्रेसले देशभर असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार निर्वाचन सम्पन्न गर्ने तयारी गरेको छ । जसमा ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुनेछ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन हुनेछ । असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ ।