नेपालगन्जमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो
Saturday, November 7th, 2026, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ कात्तिक
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी; प्रकृतिअनुकूल आहार, औषध र विहार, रोगमुक्त समाजको आधार’ भन्ने मूल नाराका साथ २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नेपालगन्ज–४ बाँकेको आयोजनामा केन्द्र परिसरमा आयोजित कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट प्रमुख अतिथि तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख गोविन्द पौडेल, पतञ्जली योग समिति बाँकेका अध्यक्ष पुष्कर आचार्य, स्वावलम्बी ज्येष्ठ नागरिक समाज बाँकेका अध्यक्ष नरबहादुर ठकुरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव तथा अधिवक्ता वसन्त गौतम, मानव अधिकार मञ्च लुम्बिनीका संयोजक ज्ञानबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो।

………..
कार्यक्रममा डा. यादवप्रसाद उपाध्यायले भगवान् धन्वन्तरीको प्रादुर्भाव, आयुर्वेदको महत्व तथा मानव सभ्यतामा यसको योगदानबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले आयुर्वेदमा उल्लेखित स्वस्थ जीवनशैली, दैनिक दिनचर्या, स्वस्थ आहार–विहार र नियमित योगाभ्यासले नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आयुर्वेदिक उपचार पद्धतिमा उल्लेखित शल्यचिकित्सासम्बन्धी ज्ञान, विशेषगरी सुश्रुत संहितामा समेटिएका विषयवस्तुले मानव स्वास्थ्य र हितका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरेका थिए।
वक्ताहरूले स्वस्थ समाज निर्माणका लागि प्रकृतिअनुकूल जीवनशैली अपनाउनुपर्ने, खानपानमा विशेष ध्यान दिनुपर्ने र योग तथा आयुर्वेदलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, योगसँग आबद्ध व्यक्तित्व, ज्येष्ठ नागरिक सञ्जालका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण डा. शिवराज सुवेदीले गर्नुभएको थियो।