कांग्रेस अधिवेशनको लागि बाँकेमा सहजीकरण समिति र निर्वाचन सचिवालय गठन
Saturday, September 19th, 2026, 4:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
नेपाली कांग्रेस बाँकेले १५औं जिल्ला अधिवेशनको लागि पाँच सदस्यीय निर्वाचन सचिवालय तथा १३ सदस्यीय निर्वाचन सहजीकरण समिति गठन गरेको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विर बहादुर रोकायको नेतृत्वमा रहेको सचिवालयको सदस्यहरुमा सहायक निर्वाचन अधिकृत अधिवक्ता मेहरसिंह खत्री, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री(प्रवक्ता), अधिवक्ता कपिल देव शर्मा, नेपाल शिक्षक संघ बाँके अध्यक्ष तारा थापा रहनु भएको छ ।
यसैगरी असोज ३ गते देखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनको लागि १३ सदस्य सहजीकरण समिति गठन गरिएको छ । जसको संयोजकमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, सदस्यहरुमा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, अधिवक्ता प्रलाहद बहादुर कार्की, अधिवक्ता ईश्वरी प्रसाद ज्ञवाली, अधिवक्ता कपिल देव शर्मा, पवन कुमार यादव, विरेन्द्र यादव, तारा थापा, तोजेन्द्र विक, शुक्रऋषि चौलागाई, कमल खत्री र अर्जुन ओली रहनु भएको छ ।
बाँकेको ८ वटा स्थानीय तहका ८१ वडामा शनिबार देखि वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसले असोज ३ र ४ गते स्थानीय अनुकुलता अनुसार वडा अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुँदैछन् । नेपाली कांगे्रसले सार्वजनिक गरेको तालिका अनुसार असोज ७ गते गाउँ र नगरअधिवेशन, असोज १० गते प्रदेश सभा र क्षेत्रीय अधिवेशन गर्ने तालिका रहेको छ भने असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन हुने तालिका सार्वजनिक भएको छ । आज बाँकेका वडाहरुमा अधिवेशन भैरहेको छ भने बाँके क्षेत्र नम्बर ३ मा भने क्रियाशिल सदस्यको नामावली नआएका कारण कुनै पनि वडामा अधिवेशन भएको छैन ।