कालपृष्ठ दैनिकको स्वर्णिम काल
Saturday, September 26th, 2026, 12:11 pm
Kalpristha
नरेन्द्रजंग पिटर
नेपालगन्ज, १० असोज
विज्ञापन पत्र बनिरहेको मिडियाकालमा ‘कालपृष्ठ’को प्रकाशन हुनु आफैँमा एउटा बौद्धिक हस्तक्षेप र सूचनाको औकात प्रस्ट्याउने समय थियो । विचार र समाचार प्रकाशन गर्ने सोचका साथ जोखिम उठाउन सम्पादक÷प्रकाशक हेमन्त कर्माचार्य तम्सिनुभयो । पहिलोकै अङ्कमा कालपृष्ठको महत्व, परिचय र सामाजिक दायित्वबारे मैले ‘सिग्नेचर आर्टिकल’ लेखेँ । मिडियाको स्वतन्त्रता, स्तर र सन्देश प्रकाशक÷सम्पादकको सोचमा आधारित हुन्छ । पारिवारिक पृष्ठभूमि नै प्रजातान्त्रिक संस्कार भएको र स्वयं कर्माचार्य पनि नेविसंघ र तरुण दलहुँदै नेपाली कांग्रेस पार्टीभित्रै वैचारिक पौँठेजोरी खेल्ने सक्रियतावादी थिए । लेखक (म) को आबद्धता भने वामपन्थी, त्यसमापनि युद्धरत माओवादीसँग सम्बन्धित रहेको उनलाई थाहा नै थियो । वैचारिक रूपमा दृढ कांग्रेसी सम्पादक हेमन्तले मलाई स्तम्भ लेख्ने स्वतन्त्रतामा कुनै बाधा वा सेन्सर गरेनन् । अक्षर राम्रा थिएनन्, व्याकरण शुद्ध हुँदैनथ्यो । एक्टिभिस्ट भएकोले मेरा लेखाइ पर्चाजस्तै हुन्थे । ज्ञान र विचार प्रस्तुतिमा कलाको अत्यन्तै कमजोरी हुँदापनि झिँजो नमानी उनी सम्पादन गर्थे । छापिएर आएको सामग्री देख्दा आफैँलाई नौलो लाग्ने… क्या बात !
उनका सम्पादन सहयोगीहरूले फ्याँकिदिँदा पनि उनले रद्दीको टोकरीबाट उठाएर छाप्ने गरेको म थाहा पाउँथे । त्यो कालखण्डमै वैचारिक संकीर्णता थियो । उनकै टिममा पनि अहंकारको श्रीपेचधारी नभएका भने होइनन् । तिनीहरूमा आग्रहर स्वत्वको टकराहट अनेकौँ रूपमा देखिन्थे । त्यसले सम्पादकलाई केही फरक पार्दैनथ्यो । कम बोल्नु, शीघ्र प्रतिक्रिया नदिनु अनि शब्द र अक्षरको मर्म, वजन र दीर्घकालीन सन्देशमा अत्यन्तै सजग हुनु हेमन्तको विशेषता थियो । त्यसैले मेरो ‘विषयान्तर’ स्तम्भ निरन्तर चलिरह्यो ।
नेपालगन्जको बौद्धिक, साहित्य र पत्रकारिता सधैँ सत्ताप्रभावित रहने गरेको थियो । अहिले पनि त्यो फरक ढङ्गले देखापर्दैछ । समाचारको चयन र हेडलाइनको व्यवस्थापनले पत्रकारिता र पर्चाकारिता छुट्याउँछ । आफ्नो श्रेष्ठता देखाउन ‘कुन ठूलो मान्छेसँग पहुँच छ’ भनेर फेसबुक वा अन्य सामाजिक सञ्जालबाट पत्रकार र बौद्धिक समूहले बकपत्र दिइरहेका हुन्छन् । त्यस्तो समयमा कालपृष्ठको स्वर्णिम काल सम्झिनु पनि एउटा गौरव जस्तै लाग्छ ।
ओहो… समय बितिसकेको पत्तै नहुँदो रहेछ । यस बीचमा कयौँ सरकार फेरिए । मन्त्री र सांसदहरू फेरिए । सिडियो साब, एसपी साहब फेरिए । डिआइजी र एसएसपी साबहरू फेरिए । अब त कैयु अड्डाहरू पनि सुर्खेत वा भालुवाङ पुगिसके । डिआइजी साबको कार्यालय पनि सुर्खेत गइसक्यो । द्वन्द्वको रूप फेरिने बित्तिकै कयौँ आइएनजीओहरू सकिए, केही सुर्खेत पुगे । शक्तिको शिखरमा पुगेर अहंकारले ‘म नै सत्ता हुँ’ भन्ने हाकिमहरू कसैले सलाम गर्ला कि भनेर सडकमा भौँतारिरहेको देख्छु । फुली फुस्कने वित्तिकै हुकुमले सत्ताको हविगत सकमा नियाल्नुपर्छ । यो सबै कालपृष्ठले मिहीन तरिकाले नियाल्यो ।
देशमा सत्ता मात्तिरहेको बेला, पश्चिमको मुख्य शक्तिकेन्द्रमा बसेर साँचो अर्थमा पत्रकारिता गर्नु ठूलो चुनौती र जोखिम मोल्नु हुन्थ्यो । उनको पत्रकारिताले कयौँ विद्रोहीको ज्यान बचेको, कयौँले न्याय पाएको र सत्ताधारीहरू रिसाएको मलाई थाहा थियो । मेरो लागी कालपृष्ठ र ‘प्रयास समूह’ रक्षाकवच बनेका थिए ।
आफ्नो स्तम्भमा म इतिहासको चर्चा गर्दै वर्तमानसँग संवाद गरिरहेको हुन्थेँ । विस्मृतिको गर्भमा पुगेका नायकहरूका चिहान खोतल्दै व्यक्तित्वका रूपमा खडा गर्नु वर्तमानप्रतिको दायित्व म सम्झन्थेँ । लेख्दै गर्दा मलाई नेपालगन्जका चिच्याइरहेका आममानिसका कथा लेख्न हौसला मिल्यो— ‘हरेक ठूला मान्छेका कथाहरूमा आममानिसका कसरी सपना ध्वस्त भएका छन् ? इज्जत–आबरू लुटिएका छन् ? एउटा भव्य महलको जगमा कतिको हाडखोर पुरिएको छ ?’ यसले मलाई नेपालगन्जको इतिहास, राजनीति र संस्कृति अध्ययन गर्न उत्प्रेरित गर्यो । त्यस समयका टिपोटहरू अहिले मेरो ‘नेपालगन्जदर्पण’ पुस्तकका लागि कच्चा सामग्री बनेका छन् । कालपृष्ठले मेरो धमिलो चस्मामा पावर हालिदियो, आँखालाई अझ चम्काएर नयाँनजर र दृष्टि बनाइदियो ।
मिडियाविज्ञ रोबर्ट म्याकलुहान भन्छन्— “मान्छे नित्यनयाँ हुन्छ ।” हो त नि, समयसँगै चिन्तन र व्यवहार फेरिन्छ । चस्मा अनुसार सुन्दरता फेरिन्छ । राजनीति मात्र होइन, सत्ताको चरित्र नै फेरिन्छ । कालपृष्ठको गम्भीर पत्रकारिताको समय पनि फेरियो । पात्र उही रहे पनि नेपालगन्जको पत्रकारिताको चरित्रमा भने फेरी पनि प्रश्न उठदैछन् ।
सामाजिक अन्तर्विरोध र पार्टीहरूका ट्रेडमार्क उही रहे पनि भाष्य र चरित्र फेरिए । कालपृष्ठको प्रकाशकीय र सम्पादकीय टिम पनि फेरियो । तब हेडलाइन र विचार सामग्री फेरिनु आश्चर्य थिएन । गम्भीरताको हकदार बनेर उत्तराधिकारीसामु पूर्व गरिमाको रक्षा गर्नु ठूलो चुनौती हुन्छ ।
नयाँ कालपृष्ठसामु रहेका चुनौतीहरू
फेरिएको समयसँगै फेरिनु र फेरिएको गति समातेर यात्रालाई निरन्तरता दिनु मान्छे वा संस्थासामुका प्रमुख चुनौती हुन् । यो समय भनेको हुने, गर्ने, बोल्ने र देखिने बीचको द्वन्द्वरत समय हो । यहाँ सूचना, कुसूचना र भ्रमित सूचना आपसमा भिडिरहेको बेला मिडियाहरू विश्वसनीयता बचाइ राख्ने चुनौतीका बिच जुझिरहेका छन् । कालपृष्ठको पहिलो समयमा पर्चाकारितासँग भिडन्त हुन्थ्यो । स्रोतको केन्द्र शक्ति र सत्ता हुँदैनथे । चंखपाठकहरू सम्पादकको हिमचिम, लसपस र विज्ञापनलाई नियालेर मिडियाप्रति आफ्नो धारणा बनाउँथे । संवेदनशील सम्पादक पाठकप्रति उत्तरदायी हुन्थे भने सामान्यजन मिडियालाई चौथो स्तम्भ र आफ्ना प्रतिनिधि एवं रक्षक सोच्थे । त्यसैले पुरानो ‘कालपृष्ठ काल’ सम्झनु भनेको नेपालगन्जको फरक पत्रकारिताको युगलाई सम्झनु हो ।
नयाँ कालपृष्ठको नयाँ नेतृत्वले नयाँ चुनौतीको सामना गर्न सकेन भने आफ्नो गौरवको रक्षा गर्न सक्दैन ।
अब आफूलाई सशक्त रूपमा डिजिटलाइज्ड गर्नैपर्छ । नयाँ पाठक, स्रोता र दर्शक माझ पुग्नैपर्र्छ । कालपृष्ठले उपभोक्ता (अब पाठक, स्रोता र द्रष्टा) को मन र मस्तिष्कमा कसरी स्थान बनाउने ? सामाजिक सञ्जालले ल्याएका चुनौतीहरूलाई निर्भीकताका साथ झेल्नुपर्छ । यदि शासन र प्रशासनका विज्ञप्ति नै मुख्य स्रोत बन्छन् भने किन मिडिया पढ्ने, सुन्ने वा हेर्ने? सम्पादकज्यू, नयाँ बन्न नयाँ सोच र शैली हुनुपर्छ । नयाँ बन्न “या त हड्के, या बड्के” हुनैपर्छ । २९औँ वर्ष प्रवेशको अवसरमा कालपृष्ठले आफ्नो गरिमा र गौरवलाई निरन्तरता दिन सकोस् भन्ने हार्दिक शुभकामना !