सरकार विरुद्ध बोल्नेलाई प्रतिसोध साध्ने काम भएको छः नेता महर
Monday, September 28th, 2026, 7:52 pm
Kalpristha
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १२ असोज
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारको विरुद्धमा बोल्ने व्यक्तिलाई प्रतिसोध साध्ने काम बढिरहेको आरोप लगाउनु भएको छ । सोमबार नेपालगन्जमा पत्रकारहरुसँग भेटघाटको क्रममा महरले सरकारको विरुद्धमा लेखेकै भरमा अहिले पक्राउ गर्ने प्रविधि बढिरहको बताउनु भयो ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको क्रममा पुर्व मेची देखि पश्चिम महाकालीसम्मको देश दौडाह गरिरहेको बताउँदै महरले वर्तमान अवस्थामा सरकाले देखाएको रवैया जनमूखी नभएको बताउनुभयो । अबको अवस्थामा ईतिहास बोकेको नेपाली कांग्रेसलाई समय सान्र्दभिक बनाउन थुप्रै चुनौतीहरु रहेका भएता पनि कांग्रेसले जिम्मेवारी आफ्नो काँधमा लिनुपर्ने बेला आएको बताउनुभयो ।
२०८२ को भाद्र पछि देशमा स्थापित भएको असमानजस्य स्थितीले राजनीतिक संरचना नै उथलपुथल बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकार र जनताको तालमेल मिल्न सकेको छैन । सरकार जनता प्रति उत्तरदायि भएको छैन । यतिबेला नेपाली कांग्रेस जनताको पक्षमा सशक्त रुपमा जनताको सामिप्य र इच्छालाई बुझेर अगाडी बढ्नुपर्ने भएको छ ।’
वर्तमान सरकारलाई विश्वास गरेर अत्यधिक मतका साथ बिजयी गराएता पनि समग्र नागरिक समाज सरकारसंग त्रसित हुनुपरेको अवस्था रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थाबाट नेपाली जनतालाई कसरी बाहिर ल्याउने भन्नेमा नेपाली कांग्रेस केन्द्रित रहेको उहाँले बताउनुभयो ।
यो वर्तमान अवस्थामा सृजित परिस्थितीलाई सम्हाल्न सक्ने र उत्तरदायि हुँदै विश्वसामु उभिनुपर्ने चुनौती रहेको बताउनुभयो । अब नेपाली कांग्रेसमा जेन्जीको नवप्रर्वतन र पाका पुस्ताको अनुभवको संयोजन हुने गरी अगाडी बढ्नुको बिकल्प नरहेको उहाँको भनाई रहेको थियो । नेता महरले आफु आगामी अधिवेशनमा महामन्त्री पदको आंकाक्षी भएको समेत बताउनु भयो ।