कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धा गर्दै अमर सिंह पुन
Thursday, October 1st, 2026, 7:06 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी बताउनु भएको छ । सभापति पुनले आफू महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको र त्यसका लागि पार्टीका नेताहरूसँग समन्वय भइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘एक तहका नेताहरूसँग छलफल र समन्वय भइरहेको छ । महामन्त्रीको तयारी भइरहेको छ । अब केही दिनमा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा हुन्छ ।’
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको पूर्ण बैठकबाट आफूलाई केन्द्रीय महामन्त्रीमा अघि बढाउने विषयमा निर्णय गर्ने तयारी रहेको उहाँले बताउनु भयो । पुन पूर्व सङ्घीय राज्यमन्त्री समेत हुनुहुन्छ । यसअघि भैरहवामा भएको कांग्रेसको प्रदेश अधिवेशनमा भरत शाहलाई पराजित गर्दै पुन लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित हुनु भएको थियो । पछिल्लो समय कांग्रेस सभापति गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा पुनले सार्वजनिक रूपमा आवाज उठाउँदै आउनु भएको छ ।
कांग्रेसका नेताहरूका अनुसार पुन पार्टी नेतृत्वसँग समन्वय गर्न सक्ने तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्न सक्ने नेताका रूपमा परिचित हुनुहुन्छ । लुम्बिनी प्रदेशमा मात्र नभई देशभरका कांग्रेस कार्यकर्तासँग समेत उहाँको सम्बन्ध रहेको छ ।