टिपी पौडेलको कविता: ‘मृत्यु मन्थन’
Friday, October 2nd, 2026, 12:22 pm
Kalpristha
टिपी पौडेल
चितवन जगतपुर
सुन्दर युवतीको मनमोहक नृत्यमा
मेरो मृत्यु नाचेजस्तो लाग्छ,
तिनै युवतीसँगै नाचिदिन्छु
मृत्युको नृत्य मलाई प्रिय लाग्छ ।
मेरो मुटुको धड्कन
मृत्युको धड्कन हो
यिनै धड्कनसँग म
जीवनको उचाइ र गहिराइ नापिरहेको छु,
जीवनसँग मृत्यु साटिरहेजस्तो छु ।
मलाई थाहा छैन जीवनमा
आजसम्म मैले के नापेँरु
कहाँसम्म नाप्ने होरु
श्वासको माला पनि
बारुदको माला जस्तै भएको छ ।
म फगत हिँडिरहेको छु
कतै जानलाई होइन,
आफैलाई बिर्साउनलाई
हिँडेजस्तो गरिरहेको छु ।
लाग्छ कताकता मेरो खुट्टासँगै हिँड्छ मृत्यु
र त दह्रोसँग टेक्न सक्छुस
मेरा हातले प्रेयसीको कपाल सुमसुमाउँदा
मृत्यु सुमसुमाएझैँ लाग्छ
र निधारमा मृत्युको टीका टप्कन्छ ।
टल्काउने टीका सबैले झल्काउने होइन,
मलिन मनको अँध्यारोमा
दियो पनि बले जस्तो लाग्छ ।
समयले भिजायपछी
सम्झनासँग साउती मार्छु
सम्झना पनि मृत्युको सङ्कलन रहेछ ।
क्रमस मृत्युको सङ्ग्रहमा
म एकाकार हुन्छु ।
मृत्यु, म र मेरो सम्झना
सबै मृत्युहरूको सुन्दर साङ्लो रहेछ ।
सम्झना र प्रियजनलाई प्रेम मात्र देख्छु
किनकि म जस्तै उनीहरू पनि मृत्यु रहेछन्
र त म उनीहरूलाई अगाध प्रेम गर्छु ।
म मृत्युप्रेमी भएरै होला
जीवन पनि प्रेम नै प्रेमको
प्रेमिल पत्रदल जस्तो होला ।
देह सुस्ताउने देवघाट दोभान सम्झन्छु ।
हरेक जीवनमा मृत्यु देख्छु,
हरेक मृत्युमा जीवनको हरक पाउँछु ।