लुम्बिनी प्रदेशको रोमाञ्चक जित, गण्डकी ४–३ ले पराजित
Friday, October 9th, 2026, 7:02 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
नेपालगञ्ज–११ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको एसियन पेन्ट च्याम्पियनसिप कप यू–१८ फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४–३ गोल अन्तरले पराजित गरेको छ।
नेपालगञ्ज रंगशालामा भएको खेलको पहिलो हाफमा लुम्बिनी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अग्रता बनाएको थियो। लुम्बिनीका जर्सी नम्बर ११ का अमित बोहराले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि जर्सी नम्बर २२ का सञ्जय रोकाले ३८औँ मिनेटमा गोल गरेपछि लुम्बिनीले पहिलो हाफ २–० को अग्रतासहित समाप्त गरेको थियो।
दोस्रो हाफमा गण्डकी प्रदेशले आक्रामक खेल प्रस्तुत गर्दै खेलमा फर्कने प्रयास गर्यो। गण्डकीका जर्सी नम्बर ३ का खेलाडीले ५०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। त्यसपछि लुम्बिनीका सञ्जय रोकाले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ बनाए।
दुई गोलले पछि परेको गण्डकीले त्यसपछि लगातार दबाब बढायो। गण्डकीका जर्सी नम्बर ८ का सफल कार्कीले ६०औँ मिनेटमा गोल गर्दै अन्तर ३–२ मा झारे। खेलको ९०औँ मिनेटमा कार्कीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि गण्डकीले खेललाई ३–३ को बराबरीमा पुर्यायो।
खेल बराबरीमा सकिन लागेको अवस्थामा थप समयको ९१औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर १० का मनोज परियारले निर्णायक गोल गरे। परियारको उक्त गोलसँगै लुम्बिनीले ४–३ को रोमाञ्चक जित सुनिश्चित गरेको हो।