कर्णाली किनारमा ‘ओ मेरी छोराटी’ को छायाँकन सम्पन्न
Monday, November 2nd, 2026, 10:33 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बाँके, १७ कात्तिक
गायक तथा मोडेल सुनिल सिंह ठकुरीको ‘ओ मेरी छोराटी’ गीतको म्युजिक भिडियोको छायाँकन सकिएको छ । कर्णाली भेगको गीत, संगीत र भाषालाई झल्काउने गीतको छायाँकन कर्णाली नदिको पुलमा गरिएको थियो । गीतको सम्पुर्ण छायाँकन कर्णाली चिसापानी वरपरको सेरोफेरोमा गरिएको गायक ठकुरीले बताउनु भयो ।
सुनिल सिंह ठकुरी र सदिक्षा कंटेलले गाएको ‘ओ मेरी छोराटी’ गीतको म्युजिक भिडियोमा कलाकार भुगोल कुमार कार्की, करिष्मा शाही ठकुरी, सुनिल सिंह ठकुरी, दिनेश कठायत काजी, दिनेश रेग्मीले अभिनय गर्नु भएको छ ।
नविन रावलको शंब्द–संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुरज पाण्डेले गर्नु भएको छ भने क्यामेरामा विशाल परियार र श्रंगार रवि केसी रहनु भएको छ । तुलसी देवी फिल्म प्रालीले निर्माण गरेको म्युजिक भिडियोको मिडिया प्रमोशन पार्टनरमा कालपृष्ठ दैनिक रहेको छ । म्युजिक भिडियो यसै साता गायक सुनिल सिंह ठकुरीको युटुब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
पहिलो पटक सुदुरपश्चिमको संस्कृतिलाई चिनाउने गीत गाउँदा खुसी लागेको गायक सुनिल सिंह ठकुरीले बताउनु भयो । उहाँले भन्नु भयो,‘मैले करिब एक सय गीत गाईसकेको छु । तर यो गीत मेरो करियरको विषेश गीत हो । यसलाई मेरो प्रिय स्रोता, दर्शकले मनपराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
नेपाली गीतसङ्गीत क्षेत्रमा गायक तथा मोडेल सुनिल सिंह ठकुरी आफ्नो विभिन्न सांगीतिक प्रस्तुतिमार्फत दर्शकमाझ परिचित हुनुहुन्छ । उहाँका विभिन्न गीत तथा म्युजिक भिडियोले नेपाली सांगीतिक क्षेत्रमा उपस्थिति जनाउँदै छ । यसै क्रममा उहाँको ‘ओ मेरी छोराटी’ गीतले पनि दर्शक तथा श्रोतामाझ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
म्युजिक भिडियोमा अभिनय गर्नु भएका कलाकार भुगोल कुमार कार्कीले सुदुरपश्चिमको भाषालाई चिनाउन गीतले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘म आफै पनि सुदुरपश्चिमको हुँ । सुुदुरपश्चिमको गीतमा मैले पनि पहिलो पटक अभिनय गरेको छु । यो नृत्य गर्न मिल्ने गीत हो । यसलाई दर्शक, स्रोताले मन पराउनु हुनेछ भन्ने विश्वास छ ।’ म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारले पनि गीतले दर्शकको मन जित्ने विश्वास लिनु भएको छ । मोडेल करिश्मा शाही ठकुरीले गीत निकै सुन्दर भएको बताउनु भयो ।
फरक शैलीका गीत तथा भिडियोमार्फत दर्शकको मन जित्ने प्रयासमा रहेका कलाकार, गायक तथा गायिकाले सृजना गरेको ‘ओ मेरी छोराटी’ ले चर्चित हुने निर्माण टिमले विश्वास लिएको छ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ तथा फरक स्वादका गीतहरूको माग बढिरहेका बेला ‘ओ मेरी छोराटी’ ले कस्तो प्रतिक्रिया पाउँछ भन्ने आम दर्शकको पनि चासो रहेको छ ।